गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 12:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।

बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।

सुजुकी

सुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । 

हुण्डाई

हुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । 

यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।

बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।

ड्याट्सन

ड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।

यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।

१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।

निशान

निशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । 

योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।

टाटा

टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । 

व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।

प्रोटोन

प्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।

कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । 

पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।

किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।

अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

फक्सवागन

फक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । 

योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फोर्स

फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।

अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।

फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।

फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved