डिलरबाट किन धमाधम कर्मचारी हटाउँदै छन् गाडी ब्यापारी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 17, 2022 | 10:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

गाडीको आयातमा लाग्दै आएको प्रतिबन्ध लम्बिएपछि गाडीको आयातकर्ता र बिक्रेताहरुले कर्मचारी कटौती गर्न थालेका छन् । निजी प्रयोजनका ४ पाङ्ग्रे जीप, कार भ्यानको आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएपछि आपूर्तिकर्ता र बिक्रेताले कर्मचारी हटाउन सुरु गरेका हुन् । 

सरकारले विदेशी मुद्राको सञ्चितीमा दबाब परेको भन्दै निजी प्रयोजनका ४ पाङ्ग्रे सवारी (कार, जीप र भ्यान) को आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । असोज २८ सम्म कायम प्रतिबन्ध असोज २८ पछि फुकुवा हुने आशामा रहेका आपूर्तिकर्ता र बिक्रेताले प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएपछि कर्मचारी कटौती सुरु गरेका हुन् । 

अब मंसिर मसान्तपछि पनि आयात प्रतिबन्ध खुल्ने आधार नदेखिएको र खुले पनि गाडी किन्न चाहनेले सन् २०२३ को नयाँ मोडल पर्खिने भएकाले तत्काल व्यवसाय चल्ने नदेखेर आफूहरुले कर्मचारी र सञ्चालन गर्न कटौती गर्न थालेको व्यवसायीहरुले बताएका छन् । 

नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले काठमाडौँ बाहिरका शोरुमहरु क्रमशः बन्द भइरहेको र गाडीको आयात नखुलेसम्म बन्द अवस्थामै रहने बताएका छन् । 

‘व्यवसाय हुने समय दशैँ तिहार हो, नयाँ सवारी किन्ने, सट्टापट्टा गर्नेले दशैँ तिहारमै गर्छन्, कम्पनीहरुले यो समयमा चाडपर्व अफर दिएका हुन्छन्’ नाडाका अध्यक्ष थापा भन्छन्, ‘तर, दशैँमै यसपाली शोरुम शून्य भए, असोज २८ पछि आयात खुल्छ की भन्ने थियो, तर झन लम्बियो । अब शोरुम खोलेर बिना ब्यापारको खर्च मात्रै बढाएर के गर्ने ? त्यही भएर डिलरहरुले सटर बन्द गर्ने क्रम बढेको छ ।’ 

कर्मचारीलाई बेतलबी बिदा

दशैभर डिलरहरुले ‘सटर क्लोज’ गरिरहेको भएपनि हालसम्म कुन क्षेत्रमा कति सटर बन्द भए तथ्यांक आइसकेको छैन । तर, नाडाले बन्द भएका शोरुमको संख्या र ती शोरुममा कार्यरत कर्मचारीका साथै बन्द हुने चरणमा रहेका शोरुमबारे अध्ययन सुरु गरेको छ ।

शोरुम बन्द भएपछि डिलरहरुले कर्मचारीलाई ‘अनपेड लिभ’ (बेतलबी बिदा) दिएका छन् । शोरुम बन्द गरेर सम्झौता अनुसारको भाडा मात्रै भुक्तानी दिने गरी कर्मचारी कटौती गरिएको व्यवसायीहरु बताउन थालेका छन् । कर्मचारी कटौती गरेर शोरुम नै बन्द गरेपछि कर्मचारीको तलब, बिजुली, पानी लगायतमा हुने खर्च कटौती गर्ने योजना अनुसार डलरहरुले शोरुम बन्द गरेको नाडाका अर्का एक जना पदाधिकारी बताउँछन् । 

कतिपय व्यवसायीहरुले भने बैंकले साँवा र ब्याज भूक्तानीमा ताकेता गरेका कारण व्यवसाय चल्दै छ भन्ने देखाउन एकाध कर्मचारी राखेर शोरुम खोलिरहेका छन् । यस्ता शोरुमले पनि धेरैजसो कर्मचारीलाई गाडी आयात खुला भएपछि पुनः बोलाउँछौँ भनेर बेतलबी बिदा दिएका छन् । 

'अन्तराष्ट्रिय स्तरमै नेपाललाई हेर्ने नजर बिग्रियो'

नेपाली व्यवसायीहरुले अर्डर गरेपछि गाडी निर्माता कम्पनीहरुले गाडी बनाएर नेपाल पठाउँथे । नेपालका आपूर्तिकर्ताले पनि यहाँ अर्डर लिएपछि मात्रै निर्माता कम्पनीसँग अर्डर गर्छन् । 

तर, आयातमा पटक पटक प्रतिबन्ध लम्बिएपछि नेपाली आपूर्तिकर्ताले गाडी निर्माता कम्पनीमा दिएको अर्डर रद्द हुन पुग्यो । एक पटक मात्रै नभई, गत बैशाखदेखि पटक पटक अर्डर रद्द गर्नुपर्ने बाध्यतामा नेपाली व्यवसायीहरु पुगेपछि गाडी निर्माता कम्पनीहरुले अहिले नेपाली व्यवसायीहरुलाई विश्वास गर्नै छोडेका छन् । 

यसअघि बुकिङ गरेपछि गाडी भएपछि मात्रै एलसी खोल्दा हुनेमा अहिले निर्माता कम्पनीले एलसी नखोली अर्डर नै लिन नमान्ने अवस्था आएको छ । 

यसकारण चालु वर्ष भरी नै गाडीको व्यवसाय प्रभावित हुने र व्यवसाय चलायमान बनाउन थप समय लाग्ने भएकाले व्यवसायीहरु पलायन हुने मात्रै नभई सरकारको राजस्व लक्ष्यमा समेत नकारात्मक प्रभाव पर्ने नाडाका अध्यक्ष थापा बताउँछन् । 

गत आर्थिक वर्ष २०७८/०७९ मा १७ अर्ब रुपैयाँ बराबरका निजी ४ पाङ्ग्रे सवारी आयात हुँदा ३९ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

नाडाले कुल राजस्वमा अटोमोबाइल्स क्षेत्रको योगदान २५ प्रतिशत बढी रहेको दाबी गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved