युरोपका देशहरुले आयु सकिएपछि ‘थोत्रा’ ब्याट्री सम्बन्धित गाडी निर्माता कम्पनीले नै फिर्ता लैजाने सर्तमा मात्रै विद्युतीय सवारी साधन लैजान्छन् । त्यस्ता ब्याट्रीबाट उत्पन्न हुने हानिकारक रसायनले मानव स्वास्थ्य र वातावरणमा असर गर्ने कुरामा उनीहरु सचेत छन् ।
तर नेपाल यस्तो मुलुक हो, जहाँ असर गरिसकेपछि मात्रै चाल पाउने र कानून बन्ने अबस्था रहन्छ । विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन दिएकाले आयात बढिरहेको छ । त्यसबाट उत्पन्न हुने हानीका विषयमा बहस हुन नसक्दा र नीति नबन्दा भोलि वातावरण तथा मानव स्वास्थ्यमै खतरा पैदा हुने आशङ्का देखिएको छ ।
विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री निश्चित अवधि पश्चात फेर्नुपर्ने हुन्छ । पूरानो भएको ब्याट्री झिकेर नयाँ प्रतिस्थापन गर्नुपर्दा पूरानो ब्याट्री कहाँ र कसरी ‘डिस्पोज’ गर्ने भन्ने स्पष्ट नीतिगत व्यवस्था नहुँदा भविष्यमा प्रदूषण चुलिने खतरा छ ।
नाडा अटोमोबाइल्स एसोसियसन नेपालका अध्यक्ष ध्रुब थापा भन्छन्, ‘ ती ब्याट्री व्यवस्थापनमा अहिले नै स्पष्ट कानुन बन्नुपर्छ, भविष्यमा ब्याट्री डिस्पोजको समस्या आउन सक्नेमा नाडा सचेत छ ।’
उनका अनुसार नीति बनाउने तहमा बारम्बार यसबारे झकझक्याउने काम गरिए पनि रिजल्ट देखिएको छैन । पछि एकैचोटी समस्या देखाउनुभन्दा अहिलेदेखि नै यसबारे सरकार सचेत भएर कानून बनाउन आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।
पारा अक्साइड ब्याट्री, लीड–एसिड ब्याट्री, निकल–क्याडमियम ब्याट्रीहरु थोत्रा हुँदा माटो र पानी प्रदूषित गराउँछन् । त्यस्तो माटो र पानीमा उब्जने तरकारी र खाद्य वस्तु तथा माछा खाँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्छ ।
यस्ता ब्याट्रीमा प्रयोग गरिएका धातु, एसिड र भित्री क्षारहरू चुहिन्छन् । यसरी चुहिने धातु, एसिड र क्षार माटो वा पानीका स्रोतहरूमा प्रवेश गर्छन् र विभिन्न मार्गहरू हुँदै मानव खाद्य श्रृङ्खलामा प्रवेश गर्छ । जसले मानव स्वास्थ्य जोखिममा पर्छ ।
हाल नेपालमा आयात भइरहेका इलेक्ट्रिक सवारीमा जडान भएका ब्याट्रीको आयु ५ देखि ८ वर्षसम्म मात्रै छ । कतिपय विद्युतीय सवारीको ब्याट्री फेर्नुपर्ने बेला आइसकेको छ तर नयाँ ब्याट्री फेर्दा निकालिने पुरानो ब्याट्री अहिलेको अवस्थामा गाडी निर्माता कम्पनीले फिर्ता लैजाँदैनन् । नेपालमा त्यसरी लैजाने नीति नै छैन ।
‘अहिले नेपालमा आयात भएका इलेक्ट्रिक गाडीका निर्माता कम्पनीले भविष्यमा ब्याट्री पुरानो भएपछि फिर्ता लैजाने अवस्था छैन, किनकी उनीहरुसँग यस्तो सर्त राखेर गाडी आयात भएकै छैन’ थापा थप्छन्, ‘आयात गर्दा नै कुनै सर्त भए पो पछि निर्माताले फिर्ता लैजान्छ, इभी निर्माताहरुले बिना सर्त नेपालमा गाडी पठाउन पाइरहेका छन् ।’
इलेक्ट्रिक भेहिकलको डम्पिङ साइड बन्ने खतरा
विद्युतीय सवारी साधनको आयात बढिरहेको भए पनि सबै खालका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको आयात हुँदा ‘क्वालिटी’मा पनि प्रश्न उठ्ने जोखिम रहेको बताइन्छ । एकातिर ब्याट्रीको आयु सकिएपछि डिस्पोज कसरी गर्ने भन्ने नीति नहुने र अर्कोतर्फ एक दुई वर्षमै ब्याट्रीको आयु सकिने खालका सवारी साधन पनि आयात भइरहने जोखिमले भविष्यमा नेपाल ‘इलेक्ट्रिक भेहिकलको डम्पिङ साइट’ बन्ने खतरा रहेको थापा बताउँछन् ।
इलेक्ट्रिक भेहिकललाई प्रोत्साहन गर्ने भनिएपछि जस्ता पनि गाडी आउन सक्नेतर्फ सचेत हुनुपर्छ । एक दुई वर्षमै ब्याट्री फेर्नुपर्यो भने खर्च बढ्ने र पुराना ब्याट्रीहरु के गर्ने भन्ने नीति नहुँदा त्यसले प्रदूषण पनि बढाउँछ । विद्युतीय सवारीमा जडान गरिएका ब्याट्रीहरु सयौँ वर्षसम्म पनि डिस्पोज हुँदैनन् ।
सेल मात्रै फेर्ने सुविधा छैन
कतिपय अवस्थामा ब्याट्री नै फेर्नुनपर्ने र ब्याट्रीका केही ‘सेल’ मात्रै फेर्दा हुने भए पनि नेपालमा सेल मात्रै फेर्ने सुविधा छैन ।
‘नेपालमा अहिलेसम्म कुनै पनि विद्युतीय सवारीमा भएको ब्याट्रीको सेल खराब भएमा सेल मात्रै फर्ने सकिने सुविधा छैन’ एक जना दुई पाङ्ग्रे इलेक्ट्रिक सवारीका बिक्रेता भन्छन्, ‘पुरै ब्याट्री नै परिवर्तन गर्नुपर्ने बाध्यता छ । सेल मात्रै फेर्ने सुविधा पनि हुन्थ्यो भने खर्च कम लाग्थ्यो ।’
दुई पाङ्ग्रेको ब्याट्री फेर्दा ४० हजारदेखि डेढ लाखसम्म खर्च लाग्छ । चार पाङ्ग्रे विद्युतीय सवारीको ब्याट्री फेर्नुपर्दा ५ लाखभन्दा बढी लाग्न सक्छ ।
विद्युतीय गाडीको बढ्दो छ आयत
नेपालमा इलेक्ट्रिक सवारी साधनको आयात बढ्दो छ । चालु आर्थिक वर्षको ६ महिनामा एक हजार ३५३ वटा चार पाङ्ग्रे विद्युतीय सवारीको आयात भइसकेको भन्सार विभागको तथ्यांक छ ।
सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । १ सय वाट क्षमता सम्मका चार पाङ्ग्रे विद्युतीय गाडीको आयातमा अन्तःशुल्क शून्य गरिएको छ । भन्सार दर पनि १० प्रतिशत मात्रै कायम गरिएको छ ।