तीन लाख २२ हजार किलोलिटर इन्धनको आयात घट्नुमा इलेक्ट्रिक गाडीको योगदान कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 19, 2023 | 04:37:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पछिल्लो सात महिनामा अघिल्लो वर्षको तुलनामा इन्धन (पेट्रोल डिजेल)को आयात तीन लाख २२ हजार किलोलिटरले घटेको छ । यसरी आयात घट्नुमा विकास निर्माणका काम कम हुनु, आर्थिक मन्दी, तेल महँगो भएकाले भारतीयहरु इन्धन भर्न नआउनेलगायतका कारण होलान् । तर अर्काे मुख्य कारणहरु मध्ये इलेक्ट्रिक गाडीको आयात क्रमशः बढ्नु पनि रहेको यस क्षेत्रका व्यवसायी तथा निकायको भनाइ छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को ७ महिना (साउनदेखि माघसम्म)को तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा डिजेल र पेट्रोलको आयात ठुलो मात्रामा घटेको देखिएको छ । यता गत वर्षको यही अवधिको तुलनामा चालु आर्थिक वर्षमा इलेक्ट्रिक सवारी साधनको आयात बढेको छ । 

स्वदेशमै उत्पादित बिजुलीको खपत हुने भएकाले मानिसहरु इलेक्ट्रिक सवारीमा आकर्षित भइरहेका छन् । सरकारले पनि इलेक्ट्रिक सवारीको प्रयोगलाई प्रोत्साहन गर्न भन्दै बजेटमार्फत नै १ सय किलोवाट ब्याट्री क्षमतासम्मका इलेक्ट्रिक कारमा कर छुट दिएको छ । त्यसैले विद्युतका गाडी बढ्दो र तेल आयातको हिस्सा कटौती भएको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा ४ हजार ३०३ वटा तीन पाङ्ग्रे इलेक्ट्रिक सवारीको आयात भएको छ । जबकी, गत आर्थिक वर्ष २०७८÷०७९ को ७ महिनामा ३ हजार ९४१ वटा मात्रै यस्ता सवारी भित्रिएका थिए ।

त्यस्तै, चालु आर्थिक वर्षको ७ महिनामा १ सय किलोवाटसम्मका १ हजार ९५९ वटा इलेक्ट्रिक कार तथा जीपहरु नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको ७ महिनामा १ सय किलोवाटसम्मका सवारीको आयात जम्मा ४७८ पिस मात्रै थियो ।

यस्तै, चालु आर्थिक वर्षमा १ सयदेखि २ सय किलोवाट क्षमताका ४४ वटा सवारी आयात भएका छन् । २ सयदेखि ३ सय किलोवाट क्षमताका ६ वटा मात्रै इलेक्ट्रिक जीप तथा कारहरु नेपाल भित्रिएका छन् । 

गत आर्थिक वर्षमा १५० देखि २ सय किलोवाटका ६९८ वटा र २ सयदेखि ३ सय सम्मका २ वटा इलेक्ट्रिक कार आयात भएका थिए । नेपाल आयाल निगमका अनुसार इन्धन आयात घट्नुका प्रमुख कारणहरुमा इलेक्ट्रिक गाडीको हिस्सासमेत महत्वपूर्ण छ ।

डिजेल र पेट्रोलको खपत घट्दो

वार्षिक व्यापार घाटाको २ खर्ब रुपैयाँभन्दा बढी डिजेल र पेट्रोलको आयातमै बाहिरिने गरेको तथ्याङ्कमा भने अब गिरावट आउने देखिएको छ । यो तथ्याङ्कले क्रमशः सवारी साधनमा डिजेल तथा पेट्रोलको प्रयोग घटिरहेको देखाउँछ ।

गत आर्थिक वर्ष २०७८/०७९ को ७ महिना (साउनदेखि माघसम्म) मा ७२ अर्ब ९६ करोड १९ लाख ६४ हजार रुपैयाँको ९ लाख ६८ हजार ५५७ किलोलिटर डिजेल आयात भएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा डिजेलको आयात घटेर ६ लाख ७९ हजार ८०२ किलोलिटरमा सिमित भएको छ । यो २ लाख ८८ हजार ७५५ किलोलिटरले कमि हो । 

चालु आर्थिक वर्षको ७ महिनामा डिजेल खरिदबापत ८४ अर्ब ६१ करोड ६४ लाख १७ हजार रुपैयाँ भारतीय आयाल कर्पोरेशनलाई भुक्तनी गरिएको छ । यो रकम गत आर्थिक वर्षको ७ महिनाको तुलनामा १२ अर्बले बढी हो । यद्यपी, अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेकाले मूल्य भने गत आर्थिक वर्षको भन्दा यसपाली बढी तिर्नुपरेको छ । 

यस्तै, यसपाली पेट्रोलको खपत पनि घटेको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्म ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख २१ हजार १७२ किलोलिटर पेट्रोल खपत भएकोमा चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्म ३८ अर्ब ७३ करोड ३३ लाख १६ हजार रुपैयाँ बराबरको ३ लाख ८७ हजार ६५१ किलोलिटर मात्रै पेट्रोल आयात भएको छ ।

यसरी हेर्दा पेट्रोल मात्रै ३३ हजार ५२१ किलोलिटर कम आयात भएको छ । गत वर्ष र अहिलेको सात महिनाको मात्रै हिसाब गर्दा पेट्रोल र डिजेल मात्रै तीन लाख २२ हजार २७६ किलोलिटर कम आयात भएको देखिन्छ ।

स्थिर नीति भए देशै ‘इभी मय’ हुन्छः यमुना श्रेष्ठ

अहिले इलेक्ट्रिक गाडीको माग बढिरहेको र अपेक्षाकृत खपत अझै हुन नसकेको बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन् । उनका अनुसार व्यवसायीहरु स्थिर नीतिको पर्खाइमा रहेका छन् । 

‘एक वर्षमै ४ पटक करका दरहरु हेरफेर हुन्छन्, यसले राम्रो गर्दैन’ उनी भन्छिन्, ‘कम्तीमा २ वर्ष एउटै कर नीति हुनुपर्यो । यसो भयो भने डिजेल र पेट्रोलको खपत घट्दै जान्छ । आफ्नै बिजुलीको प्रयोग बढाउन पनि स्टेबल पोलिसी चाहिन्छ भनेर हामीले भनिरहेका छौँ ।’

उनले संसारभरी नै इलेक्ट्रिक भेहिकलको माग बढिरहेको र नेपाल जस्तो आफैँले बिजुली उत्पादन गर्ने र बिजुलीको अपार सम्भावना भएको देशमा दीर्घकालिन हित हेरेर नीतिहरु तर्जुमा हुनुपर्ने उनको सुझाव छ ।

‘डिजेल र पेट्रोलमा मात्रै वर्षेनी हाम्रो ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ, यसको सट्टामा विद्युतीय सवारी साधनसँगै बिजुली प्रयोग हुने अन्य क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ’ उनले भनिन्, ‘यसले गर्दा हाम्रो ब्यापार घाटा कम हुँदै जान्छ, डिजेल पेट्रोलको आयातमा बाहिरिने विदेशी मुद्राको बचत हुन्छ, पर्यावरण पनि प्रदूषण हुँदैन ।’ 

बिजुली गाडीको प्रयोग बढाउन प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेशनहरु बनाएको छ भने प्रमुख राजमार्गहरुमा थप स्टेशनहरु बनाउन पालिकाहरुसँग पनि सम्झौता गरेको छ । टाटा, हुण्डाइ र बीवाइडी आफैँले पनि कतिपय स्थानमा चार्जिङ स्टेशनहरु बनाएका छन् । बिजुली गाडी आयात बढिरहेको र चार्जिङ स्टेशन बन्ने क्रममा रहेकाले अझै यसप्रति आकर्षित बढिरहेकाले इन्धनको खपत घटाउन त्यसले अझै सहयोग पुग्ने देखिएको छ ।

खपत घट्नुका कारणबारे निगम यसो भन्छ

नेपाल आयाल निगमले भने आयात घट्नुको मुख्य कारण मध्य एक विद्युतीय गाडीको आयोत भएको र त्यसका साथै अन्य केही कारणहरु रहेको जनाएको छ । 

निगमका अनुसार अर्को कारणका रुपमा भारतमाभन्दा नेपालतिर डिजेल र पेट्रोल प्रतिलिटर एक रुपैयाँ जति महँगो हुँदा भारतीयहरु नेपालतर्फ तेल भर्न आउन छोडेका छन् ।

 विगतमा नेपालसँग सीमा जोडिएका भारतीय बजार क्षेत्रमा भन्दा नेपाली बजारमा डिजेल तथा पेट्रोल सस्तो हुँदा भारतीयहरु तेल भर्न नेपालका पम्पहरुमा आउँथे । अहिले यो क्रम रोकिएकाले पनि इन्धनको खपत घट्दो क्रममा देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले यसअघि नै सार्वजनिक गरेका थिए। यो सँगै, आर्थिक मन्दी र अन्य कारणले नेपालमा विकास निर्माणको काम नचल्दा डिजेलको माग घटेको निगमको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved