इलेक्ट्रिक गाडीको भन्सार बढ्यो, विदेश पढ्न जानेले डलर साट्दा तिर्ने शुल्कमा पनि वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 10:56:58 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा करका दरहरु ब्यापक रुपमा हेरफेर गरिएको छ । विशेषगरी भन्सार र अन्तःशुल्कमा अर्थमन्त्रीले ब्यापक हेरफेर गरेका हुन् ।

पहिलो पटक ‘विलासी कर’ लगाइएको बजेटमा भ्याटका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरु खारेज गरिएको छ ।

‘छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु’ अर्थमन्त्री डा महतले बजेट भाषणमा भने ।

स्वदेशी उद्योगीहरुले माग्दै आएको ‘आधारभूत संरक्षण’ प्रदान गर्ने भन्दै बजेटमार्फत स्वदेशमै उत्पादन हुने बस्तुको आयातमा भन्सार महशुल बढाएको छ । २०८० साउन १ गतेपछि सम्झौता हुने आयोजनाले स्वदेशमै उत्पादित सिमेन्ट, फलामे डण्डी, पाइप (फलामे पाइप र प्लास्टिकका पाइप) र जस्तापाता प्रयोग गर्नुपर्नेछ र यसमा पैठारी महशुल छुट दिइएको छ । यसको अर्थ सिमेन्ट, फलामे डण्डी, पाइप लगायतका निर्माणजन्य उत्पादनहरु उद्योगले आयोजनालाई बिक्रि गर्दा मूल्य अभिवृद्धि कर र अन्तशुल्क छुट पाउने छन् ।

कमसल, नक्कली तथा अवैधरूपमा पैठारी भएका बस्तुको प्रयोग हटाउन २०८० साउन १ गतेपछि आयात हुने बस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल अनिवार्य गरिएको छ । स्यानिटरी प्याड उत्पादकहरुले बहुराष्ट्रिय कम्पनीको नाममा नेपालमा अवैध रुपमा प्याडको आयात भइरहेको र त्यस्ता प्याडहरु गुणस्तरहीन हुने हुँदा प्रयोगकर्ताको स्वास्थ्यमा समस्या आउने जोखिम रहेको भन्दै त्यस्तो अवैध आयात निरुत्साहित गर्न आयातकर्ता र बजार वितरकको लेबल अनिवार्य गर्न माग गर्दै आएका थिए ।

इलेक्ट्रिक गाडीमा कर फेरबदल

सरकारले विद्युतीय सवारी साधनमा लगाउँदै आएको भन्सार दर र अन्तःशुल्क दर बढाएको छ । आर्थिक ऐनमार्फत ५० किलोवाट सम्मको मोटर क्षमता जडान भएका सवारीसाधनमा १० प्रतिशत भन्सार लगाएर अन्तःशुल्क छुट गरिएको छ ।

यसैगरी ५० देखि १ सय किलोवाट सम्मका मोटर क्षमता भएका इलेक्ट्रिक गाडीमा भन्सार दर १५ प्रतिशत कायम गरिएको छ । यसअघि १ सय किलोवाट मोटर क्षमताका विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । 

५० देखि १ सय किलोवाट सम्मका विद्युतीय गाडीमा यसअघि अन्तःशुल्क नलाग्ने गरेकोमा अब भने १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । 

१ सय किलोवाटदेखि २ सय किलोवाट सम्मका विद्युतीय गाडीमा यसअघि ३० प्रतिशत रहेको भन्सार दर भने अर्थमन्त्री डा. महतले घटाएर २० प्रतिशतमा झारेका छन् । १ सय किलोवाटदेखि २ सय किलोवाट सम्मका विद्युतीय गाडीमा यसअघि ३० प्रतिशत नै रहेको अन्तःशुल्क पनि घटाएर २० प्रतिशतमा झारेका छन् । 

२ सयदेखि ३ सय किलोवाट सम्मका मोटर जडित विद्युतीय गाडीमा ४५ प्रतिशत भन्सार लाग्दै आएकोमा घटाएर ४० प्रतिशत कायम गरिएको छ । २ सयदेखि ३ सय किलोवाट सम्मका गाडीमा लाग्दै आएको ४५ प्रतिशत अन्तःशुल्क भने यथावत छ । 

३ सय किलोवाटभन्दा बढीका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क यथावत छ ।

स्पञ्ज आइरन र बिलेटमा यथावत

यसअघि स्पञ्ज आइरन र तयारी बिलेटमा लगाउँदै आएको भन्सार दर डा. महतले चलाएका छैनन् । स्पञ्ज आइरनको आयातमा १ प्रतिशत भन्सार लाग्ने व्यवस्था यथावत छ भने बिलेटको आयातमा ५ प्रतिशत भन्सार लाग्दै आएकोमा यो पनि यथावत नै राखेका छन् ।

स्पञ्ज आइरनको अन्तःशुल्क छुट पनि यथावत छ ।

अन्तःशुल्कमा भने उद्योगीहरु अन्यौल देखिएका छन् । उनीहरु आज आन्तरिक राजस्व विभागमा यसबारे थप बुझ्न जाँदैछन् । 

चिनीको भन्सार घट्यो

सरकारले चिनीको भन्सार दर घटाएको छ । यसअघि ४० प्रतिशत रहेको चिनीको भन्सार महशुल घटाएर ३० प्रतिशत कायम गरेको हो ।

आयातित मदिरा, तारे होटलको सेवा र गहनामा विलासी कर

अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिता कर सुरु गरेका छन् । उनले विलासिता शुल्कको नाम दिएर कर संकलन गर्ने नयाँ बाटो खोजेका हुन् ।

अब नेपालमा पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा उपभोग गर्दा २ प्रतिशत लक्जरी कर दाखिला गर्नुपर्नेछ । 

आयातित मदिरामा पनि २ प्रतिशत विलासिता कर लाग्नेछ । 

त्यस्तै, १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा पनि २ प्रतिशत विलासिता कर तिर्नुपर्नेछ ।

मदिराको अन्तशुल्क पनि बढ्यो

आयातित मदिरामा प्रतिलिटर १ हजार ३ सय रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा ५० रुपैयाँ बढाएर १ हजार ३५० रुपैयाँ कायम गरिएको छ । 

यसैगरी बियरमा लग्दै आएको अन्तःशुल्क प्रतिलिटर ७ रुपैयाँ बढाएर २३५ रुपैयाँ बनाइएको छ ।

विदेश घुम्न जाने नेपालीबाट ‘पर्यटन शुल्क’ अशुल गरिने 

कर तथा आम्दानीको स्रोत पहिल्याउने क्रममा अर्थमन्त्री डा. महतले विलासी कर जस्तै विदेश घुम्न जाने नेपालीबाट पनि ‘पर्यटन शुल्क’ लिने नयाँ व्यवस्था गरेका छन् । 

अब विदेश भ्रमणमा जाने नेपालीले ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नुपर्नेछ । भुक्तानी रकममा ५ प्रतिशत पर्यटन कर तिर्नुपर्ने भएको हो ।

चुरोट र सूर्तीमा कर बढ्यो

सरकारले चुरोट र सूर्तीमा कर बढाएको छ । फिल्टर नभएको चुरोट प्रति एम ७१० रुपैयाँबाट बढाए ७३० रुपैयाँ, ७० मिमि लम्बाइको प्रति एम १ हजार ६३५ रुपैयाँबाट १ हजार ६९० रुपैयाँ र ७० मिमिभन्दा बढी ७५ मिमिसम्मको प्रति एम २ हजार २२५ रुपैयाँबाट २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

७५ मिमिभन्दा बढी ८५ मिमिसम्म्को प्रतिएमएम २८ सय ८० रुपैयाँबाट बढेर २९ सय ७० रुपैयाँ र ८५ मिमि भन्दा बढीको प्रतिएम ३९ सय रुपैयाँबाट ४ हजार ८० रुपैयाँ बनाइएको छ ।

यसैगरी समरुपी वा पुनर्निर्मित सुर्ती प्रतिकिलो ८२१ रुपैयाँबाट ८५० रुपैयाँ, जर्दा खैनी, सुर्ती किलो ८ रुपैयाँ २१ रुपैयाँबाट ८५० रुपैयाँ र धुलो सुर्ती, सुर्ती भएको वा पुनर्निर्मित सुर्ती र निकोटिन भएको सुर्ती प्रतिकिलो ४६० रुपैयाँबाट ४७५ रुपैयाँ बनाएको छ ।

तेलको भन्सार बढ्यो

तोरीको दानाको भन्सार दर १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ । १ प्रतिशत भन्सार दरमै आयात भइरहेको सोयाविन, सनफ्लावर र पाम आयलको भन्सार दर ९ प्रतिशत बढाएर १० प्रतिशत बनाइएको छ । 

बाइकको सडक दस्तुत घट्यो

सरकारले २५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको सडक निर्माण दस्तुर घटाएको छ । यस अघि २५० देखि ४ सय सीसी क्षमता सम्मका मोटरसाइकलमा प्रतिगोटा ५० हजार रुपैयाँ सडक लाग्दै आएकोमा अब प्रतिगोटा २० हजार रुपैयाँमा झारिएको छ । 

४ सय सीसी क्षमता भन्दा माथिका बाइकमा यसअघि प्रतिगोटा १ लाख रुपैयाँ सडक दस्तुर लाग्दै आएकामो अब मुल्यको १० प्रतिशत भनेर तोकिएको छ ।

विदेश पढ्न जाने विद्यार्थीले डलर साट्दा तिर्नुपर्ने शिक्षा सेवा शुल्क बढ्यो

विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले विदेशी मुद्रा साट्दा तिर्नुपर्ने शिक्षा सेवा शुल्क पनि बढेको छ । विदेश पढ्न जाने नपाली विद्यार्थीले यसअघि विदेशी मुद्रा सटहीमा २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्दै आएकोमा अब ३ प्रतिशत बनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved