सवारी साधनको व्यावसायिक उत्पादन, चारपांग्रे गाडी एसेम्बलमा लक्ष्मी मोटर पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 10:42:24 AM मा प्रकाशित

मुलुकमा सवारी साधनको व्यावसायिक उत्पादन शुरु भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुण्डाई भेन्युको व्यवसायिक उत्पादन गरिरहेको छ ।

नवलपरासीको रामग्राममा कम्पनीले हुन्डाईको एसेम्बलिङ प्लान्टमार्फत्  हुन्डाइका दुई मोडलका भेन्यु गाडी उत्पादन गरिरहेको छ । प्रथम चरणमा हुण्डाई भेन्युका दुई भेरिएन्ट अन्तर्गत हुण्डाई भेन्यू एफएल १.२ एस र भेन्यू एफएल १.२ एसएक्स छन् ।

जसअनुसार हुण्डाई भेन्यू एफएल १.२ एस मोडलमा ११९७ सीसी इञ्जिन क्षमता भएको पेट्रोल गाडीको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू एफएल १.२ एसएक्समा ११९७ सीसी इञ्जिन क्षमता भएको पेट्रोल गाडीको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।  

कम्पनीले दुईवटा मोडलको मूल्य सार्वजनिक गर्ने क्रममा कोरिया वा भारतमा बनेका आयातित गाडीको मूल्यभन्दा स्वदेशमै एसेम्बल भएको गाडीको मूल्य केहि कम छ ।  

कम्पनीका अनुसार प्रथम चरणमा हुण्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरियन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना छ । यसका साथै चालू आर्थिक वर्षभित्रमा नै Hyundai Grand i10 NIOS का साथै all new Hyundai Creta को उत्पादन पनि शुरु गर्ने लक्ष्य छ ।

लक्ष्मी मोटर कर्पोरेसन कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालस्थित आधिकारिक बिक्रेता पनि हो ।कम्पनीले नेपालमा बनेका यी सवारीको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरु कोरिया वा भारतमा मा बन्ने सोही मोडलका गाडिहरु सरह कै रहेको कम्पनीले बताएको छ ।

पश्चिम नवलपरासीको रामग्रामस्थित प्लान्टबाट वार्षिक ८ हजारवटा गाडी एसेम्बल गर्ने योजना छ । तर, तत्कालका लागि ४ हजार ५०० वटा उत्पादन हुने कम्पनीको भनाइ छ । करिब १० बिघामा प्लान्ट निर्माण गरेको यो उद्योगमा २०० जनाले रोजगारी पाउनेछन् । 

करिब डेढ खर्ब रूपैयाँमा स्थापना गरिएको प्लान्टमा एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्ने लक्ष्य रहेको लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले बताए।

अहिले नेपालमा हुन्डाईका १६ सोरुम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा बढी चार्जिङ प्वाइन्ट रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।

सरकारले कार एसेम्बल गर्ने उद्योगलाई करमा सहुलियत प्रदान गर्दै आएको छ । भन्सारमा २५ र अन्तःशुल्कमा ५० प्रतिशतसँगै आयकरमा पनि छ्रूट छ। यो प्लान्ट सञ्चालनमा आएपछि नेपाली उपभोक्ताले हुन्डाईका उत्पादन सहज र सहुलियत दरमा उपलब्ध हुने, आन्तरिक स्रोत बढ्ने र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको छ ।

एक दशकअघि नै हुलास मोटर्सले मुस्ताङ म्याक्स गाडी उत्पादन गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेपछि यो थप चर्चामा आएको थियो । तर प्राविधिक पक्ष कमजोर हुँदा प्लान्ट बन्द हुन पुगेको थियो ।

अहिले चारपांग्रे गाडी एसेम्बल गर्ने लक्ष्मी मोटर कर्पोरेसन मात्रै हो । बजाज, टीभीएस, सुजुकी, यामाहा लगायतले भने दुईपांग्रे एसेम्बल गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved