नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायात सम्बन्धि प्रष्ट नीति नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।
बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारण सभामा उपाध्यक्ष सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णय गरेकाले यातायात क्षेत्र तहसनहस भएको बताए ।
सरकारले सिण्डिकेटको नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै सिटौलाले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावक बिहीन अवस्थामा रहेको बताए ।
उनले सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु मर्कामा परेको बताउँदै राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू नगरेको कारण यातायात क्षेत्र अस्तव्यस्त बनेको समेत बताए ।
उनले सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको बताए।