चिनियाँ अटोमोबाइल कम्पनी चाङआन अटोमोबाइलले युरोपेली बजारमा आफ्नो ईभी ब्राण्ड “डीपल को औपचारिक सुरुवात गर्दै विद्युतीय मोबिलिटी क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। शेयरिङ द फ्युचरू थिममा आयोजित जर्मनीको लन्च कार्यक्रममा कम्पनीले आफ्ना तीन प्रमुख ब्रान्ड CHANG-AN, DEEPAL र AVATR सार्वजनिक गरेको हो।
चाङआनको ‘भास्ट ओसन प्लान’ अन्तर्गत कम्पनीले अनुसन्धान, उत्पादन, आपूर्ति शृंखला, बिक्री र सञ्चालनमा आधारित युरोप केन्द्रित एकीकृत ईकोसिस्टम तयार पार्दै युरोपेली बजारमा दीर्घकालीन उपस्थिति विस्तार गर्न खोजेको छ।
कम्पनीले प्रारम्भमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायतमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको रणनीति बनाएको छ। सन् २०२८ भित्रमा सम्पूर्ण प्रमुख युरोपेली बजारमा उपस्थिति जनाउने लक्ष्य लिएको कम्पनीले नेदरल्याण्ड्सलाई युरोप मुख्यालय बनाएको छ भने बिक्री मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ।
हाल कम्पनीसँग विश्वभर १८,००० भन्दा बढी R&D कर्मचारी, १६ प्राविधिक अनुसन्धान केन्द्र, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू छन्, जसले यसलाई विश्वस्तरीय ईभी निर्माता कम्पनीको रूपमा उभ्याएको छ।
कम्पनी अध्यक्ष झु हुआरोङले सन् २०२५ मा ३० लाख युनिट सवारी बिक्री गर्ने लक्ष्यसहित १० लाख विद्युतीकृत युनिट डेलिभरी गर्ने योजना सुनाएका छन्। चाङआनले युरोपेली बजार प्रवेशलाई आफ्नो वैश्विक विस्तारको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेको छ।