सिजी मोटर्सले नेपालमा पहिलोपटक शतप्रतिशत विद्युतीय पिकअप ‘रिडारा’ सार्वजनिक गरेको छ। सोमबार आयोजित विशेष समारोहमार्फत ‘रिडारा’को सार्वजनिक घोषणा गरिएको हो। कम्पनीका अनुसार यो नेपाली विद्युतीय यातायात क्षेत्रमा ऐतिहासिक उपलब्धिको रूपमा रहेको छ।
‘रिडारा’ सिजी मोटर्सद्वारा आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याइएको हो, जसले दिगो, वातावरणमैत्री र उच्च कार्यक्षमतायुक्त विद्युतीय सवारीमा नयाँ अध्याय सुरु गरेको कम्पनीको दाबी छ।
यस इलेक्ट्रिक पिकअपमा ७३ किलोवाट आवर क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ, जसले अधिकतम ४२४ किलोमिटरको रेञ्ज प्रदान गर्छ। विशेषगरी नेपालको विविध भौगोलिक क्षेत्र र चुनौतीपूर्ण सडक अवस्थालाई मध्यनजर गर्दै यसमा ७ फरक ड्राइभिङ मोडहरू — Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport उपलब्ध छन्।
‘रिडारा’ले ईभी पिकअप सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिइएको छ। यो सवारीले अफ–रोड, अपहिल, तथा वाटर(क्रसिङ क्षमताका साथै वातावरणमैत्री प्रविधिको उपयोगमार्फत दिगो भविष्यको दिशामा योगदान गर्ने कम्पनीको धारणा छ।
हाल ‘रिडारा’को प्रारम्भिक मूल्य रु ७९ लाख ९९ हजार तोकिएको छ। उक्त मूल्य अनुसार कम्पनीले यसमा समावेश विशेष प्रविधि, कार्यक्षमता र सुरक्षाका पक्षहरूलाई मूल्यअनुकूल बनाइएको बताएको छ।