नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार (चैत्र ११ गते) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गर्दै देशका उद्योगी व्यवसायीहरूका लागि उद्योगमै बसेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ।
छलफलको क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक सवारीसाधनको निर्वाध प्रवेशले नेपाली ट्रान्सपोर्ट व्यवसाय प्रभावित भएको उल्लेख गर्दै सरकारको उद्योगप्रति दृष्टिकोण अझै सकारात्मक नदेखिएको गुनासो गरे। साथै, नेपालमै फिनिस्ड गुड्सको नाममा लुब्रिकेण्ट्स बिक्री वितरण भइरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरे। उनले नेपालमै टायर उद्योग स्थापना गर्न चाहिने स्ट्यान्डर्ड व्यवस्थाको अभावप्रति पनि ध्यानाकर्षण गराए।
सोही क्रममा उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अझै पारित नभएकाले सवारीसाधन आयातकर्तालाई समस्या भएको भन्दै सो ऐन तत्काल पारित गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले भने गोरखकाली रबर उद्योगलाई उपयुक्त स्थानमा सारेर पुनः सञ्चालन गर्न सकिने र हालको स्थानलाई विशेष आर्थिक क्षेत्र बनाउन सकिने सुझाव राखे।
अध्यक्ष चौधरीले मन्त्रीसमक्ष ६ बुँदे सुझावपत्र पनि प्रस्तुत गरेका थिए। मन्त्री भण्डारीले प्रतिनिधिमण्डलको सुझावलाई गम्भीरतापूर्वक सुन्दै खुल्ला बजार अर्थतन्त्रमा पनि व्यवसायले उच्च मुनाफा गर्न सक्ने बताएका थिए। उनले नाडाले उठाएका मुद्दाहरू राजश्व परामर्श समितिमा पठाउन आग्रह गर्दै एजेन्सी दर्ता ऐन छिटै पारित हुने जानकारी दिए।
छलफलमा उद्योग, वाणिज्य सचिवसहित नाडाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।