
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठसहितको टोली र बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबिच भेट भएको छ । भेटमा विद्युतिय सवारी साधनहरुको बीमा नीतिका सम्बन्धमा छलफल भएको हो ।
छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी नीति निर्माणको आवश्यकता रहेको बताए ।
छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतिय सवारी साधनहरुको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जनाएको छ । त्यसैगरी प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ ।
विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ ।