वाइडबडी प्रकरणमा मन्त्री अधिकारीलाई व्यवसायीको साथ, कंसाकारलाई धन्यबाद

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 23, 2019 | 05:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दुई वटा वाइडबडी जहाज खरिद गर्दा घोटला भएको विषय अहिले पेचिलो बनेको छ । जहाज खरिद गर्दा अर्बौ रुपैयाँ अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उसमितिले दुईजना पूर्व सहित वहालवाला मन्त्री र सचिवलाई कारबाहीको सिफारिस नै गर्यो । 

वाइडबडी खरिदमा घोटला भएको भन्ने विषयमा नेपालका पर्यटन व्यवसायीले पहिलोपटक मुख खोलेका छन् । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अगुवाईमा भएको अन्तरक्रियामा पर्यटन व्यवसायीहरुले एकै स्वरमा वाइडबडी खरिदमा घोटला भएको भन्ने विषयमा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सचिवलाई कारबाही गर्ने विषयमा असन्तुष्टि जनाएका हुन् । 

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष शान्तवीर लामाले नेपाल एयरलाइन्सलाई ध्वस्त पार्न विगतदेखी नै केही गिरोह सक्रिय रहेको भन्दै अहिले पनि त्यही तत्वले नेपाल एयरलाइन्सलाई ध्वस्त पार्न लागेको आरोप लगाए । ‘एनएसीलाई ध्वस्त पार्न विगतदेखी नै केही तत्व लागिपरेका छन्’ उनले भने, ‘विदेशी एयरलाइन्ससँग साँठगाँठ गरेका माफियाले वर्तमान मन्त्री र सचिवलाई अपराधी नै जसरी प्रचार गरिरहेका छन् । यसमा हाम्रो आपत्ति छ ।’ 

लामाले काम गर्ने मान्छेको खुट्टा तान्ने प्रवृत्ति मौलाएको भन्दै वाइडबडी प्रकरणमा अनियमितता भएको हौवा फैलाएर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई असफल देखाउने नियत भएको दाबी गरे । वाइडबडी प्रकरणलाई जोडतोड गरेर पर्यटन क्षेत्रको कुभलो चिताउनेहरुको भिजिट नेपाल २०२० असफल बनाउने दाउ भएको आरोप लगाए ।

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पनि वाइडबडीमा भएको घोटला प्रकरणमा फैलाईएका अफवाह स्वीकार्य नभएको बताए । सरकारलाई निरुत्साहित पार्ने काम भएको भन्दै उनले भने,‘पर्यटन व्यवसायीलाई उत्साहित बनाईरहेका वर्तमान मन्त्री र सचिवलाई घोटलामा मुछ्ने गलत काम भयो, राम्रो काम गर्नेलाई निरुत्साहित पार्ने कामको टान विरोध गर्छ ।’

दाहालले पर्यटन क्षेत्र राम्रोसँग बुझेका वर्तमान मन्त्री अधिकारी र सचिव देवकोटालाई अपराधि जस्तै गरी गरिएको मिडियाबाजी आफूहरुलाई स्वीकार्य नभएको बताए । 

नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन. पाण्डेले पनि वाइडबडीमा घोटला भएको देखाएर नेपाल एयरलाइन्सलाई व्यवसाय गर्न नदिने नियत भएको दाबी गरे । उनले भने, ‘एनएसीलाई व्यवसाय गर्न नदिने र विदेशी एयरलाइन्समार्फत कमाउने दाउ भएकाले जथाभावी प्रचारबाजी गरेका छन् ।’ 

उनले पनि वहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वाइडबडी प्रकरणमा अपराधि जसरी खेदो खन्ने काम भएको भन्दै आपत्ति जनाए । उनले पर्यटन क्षेत्रमा अस्तित्वमा रहेका संघसंस्थाले रविन्द्र अधिकारी जस्तो क्रियाशील मन्त्री पाउन मुस्किल हुने बताए । 

होटल एशोसियसन नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले भिजिट नेपाल २०२० लाई असफल बनाउन लागेका गिरोहले वाइडबडीको गलत प्रचार गरेको आरोप लगाए । अहिलेसम्म नेपालको पर्यटन उद्योग विदेशी एयरलाइन्सको भरमा रहेको भन्दै नेपालको राष्ट्रिय ध्वजाबाहक जहाज आवश्यक रहेको बताए । उनले नेपाल एयरलाइन्सका सुगतरत्न कंसाकारलाई धन्यवाद दिईनुपर्ने बताए । 

घोटला भए नभएको छानबिन गर्ने निकाय रहेकोले छानबनि हुनुपर्ने तर आवश्यक रहेको जहाज कंसाकारले ल्याउने आँट गरेकाले उनलाई पर्यटन व्यवसायीले धन्यवाद दिनुपर्ने बताए । 

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्यले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने तत्व उग्र भएर लागेको आरोप लगाए । ‘एनएसीको नेतृत्वलाई उत्साहित बनाउनुको सट्टा कमजोर बनाउने काम भयो, एउटा व्यक्तिलाई सिध्याउने नियतले देशको सिङ्गो उद्योगलाई नै बदनाम बनाउने काम भयो’ उनले भने । अब पनि जहाज नउडे एनएसी थला पर्ने भन्दै उनले वर्तमान मन्त्री र सचिवको नेतृत्वलाई असफल शिद्ध गर्नेे षडयन्त्र भएको आरोप लगाए । 

पर्यटन व्यवसायीले वर्तमान सरकारले पर्यटन क्षेत्रमा केही गर्ने सुरुवात गरेपनि सरकारमाथी चौतर्फी हमला हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । 

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कृष्ण अर्यालले भने वाइडबडीको विषयमा अनुसन्धान गर्ने र छानबिन गर्ने निकाय छुट्टै भएकाले सरकारी विषयमा नीजि क्षेत्रले धारणा सार्वजनिक गर्दा सोच्नुपर्ने बताए । पर्यटनका क्षेत्रमा क्रियाशील संघसंस्थाले वाइडबडीको विषयमा धारणा राख्दा विवाद उत्पन्न हुन सक्ने खतरा औल्याउँदै उनले छानबिन पश्चात अनियमितता पाईए सरकार आफैँले संलग्नलाई कारबाही गर्नुपर्ने बताए । 

तर वहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई अपराधि प्रमाणित भईसकेको जसरी प्रचार गरिनु गलत भएको उनको तर्क छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved