नेपाललाई झुक्याउँछन् विदेशका विमान कम्पनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 19, 2019 | 11:05:10 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विमान कम्पनी ‘स्पाइस जेट’ले नोभेम्बर महिनाबाटै नेपालमा उडान भर्ने भनिएपनि उक्त कम्पनी हाल सम्पर्क बाहिर गएको छ । केही महिनाअघि नेपालमा उडान भर्न इच्छुक देखिएको स्पाइस जेटले प्रक्रियाको थालनी समेत गरेको थियो । तर समय नमिल्ने भएपछि उक्त विमान कम्पनी नेपालमा उडान भर्ने तत्कालिन सोचबाट पछि हटेको अनुमान गरिएको छ ।

नेपाललाई झुक्याउँछन् विदेशी विमान कम्पनी ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार स्पाइस जेटले नेपालको काठमाडौँ उडान बिहान गर्न इच्छा देखाएको थियो । तर बिहानको समय ‘प्याक’ भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साँझ ५ बजेको स्लट खाली छ भनेर खबर पठाएको थियो । तर स्पाइस जेटले हालसम्म त्यसको उत्तर पठाएको छैन । 

२०७२ को भूकम्पपछि काठमाडौँ उडान बन्द गरेको उक्त कम्पनीले फेरि काठमाडौंबाट दिल्ली र बम्बईमा दैनिक उडान गर्ने बताएको थियो । जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स् एजेन्टमा नियुक्त समेत गरिसकेको स्पाइस जेटले अन्तिम समयमा आएर सम्पर्क नगरेपछि उक्त कम्पनी अब आउने या नआउनेमा अन्यौल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजकुमार क्षेत्री बताउँछन् ।

स्पाइस जेट मात्रै नभई भारतकै भिस्तारा एयरले पनि नेपालमा उडानको तीव्र इच्छा देखाएको थियो । तर प्रक्रिया सुस्त हुँदा सन् २०२० अगावै भिस्ताराले नेपालमा उडान भर्नेमा शंका उत्पन्न भएको छ । 

एउटा आयो, एउटाले उडान थप्यो

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’को पूर्व सन्ध्यामा नेपाल आउँछौ भनेर आशा देखाएका अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीहरु नआएपनि नियमति उडान गरिरहेका विमान कम्पनीले भने उडान विस्तार गरेका छन् । 

गत वर्षबाट नेपालमा उडान सुरु गरेको ओमनको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले काठमाडौंमा उडान थप गरेको छ । सातामा ३ मात्रै उडान गर्दै आएको सलामले उडान संख्या बढाएर दैनिक १ उडान बनाएको छ । 

योसँगै कुवेतको जजिरा एयरवेजले पनि नेपालमा उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार जजिराले १७ सेप्टेम्बरबाट उडान थालेको छ । आउँछु भनेर नआएका विमान कम्पनीहरुको ठाउँमा एउटा कम्पनी आउँदा र एउटाले उडान थप गर्दा पर्यटक भित्र्याउन केही राहत मिल्ने प्राधिकरणको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved