सरकारले कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे सतर्कता अपनाउन आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको मन्त्रालयले जनाएको छ । “हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ” मन्त्री भट्टराईले भने ।
चीनबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको छ । मन्त्री भट्टराईले लुम्बिनी, पशुपति, ठमेल, सौराहलगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अ¬ङ्ग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न सरोकारवालालाई आग्रह गरेका छन् ।
‘फोकल पोइन्ट’
मन्त्रालयले पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई भाइरससम्बन्धी फोकल पोइन्ट तोकेको छ । विभाग र बोर्डले सरोकारवाला निकायसँग समन्वय गर्ने गरी काम गर्नेछन् । पर्यटकमा यससम्बन्धी लक्षण देखियो भने विभाग र बोर्डका अधिकारीले सम्बन्धित क्षेत्रसँग समन्वय गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।
छलफलमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), होटल एसोसियन अफ नेपाल (हान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्स (नाट्टा) लगायत निजी क्षेत्रका व्यवसायीको सहभागिता थियो ।