विमानस्थलहरुमा ३ खर्ब बढी खर्च गर्ने योजनामा पर्यटनमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 06, 2020 | 11:36:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी ५ वर्षभित्र ४ वटा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्य लिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी ५ वर्षभित्र विमानस्थलको पूर्वाधार विकासमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । 

आगामी पाँच वर्षमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विस्तारसँगै भौतिक संरचना निर्माणको काम नै सुरु नभएको ‘निजगढ अन्तराष्ट्रिय विमानस्थल’ पनि निर्माण सकेर सञ्चालनमा ल्याउने प्राधिकरणको लक्ष्य छ । भैरहवा र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल चालु आर्थिक वर्षभित्रै सम्पन्न भएर व्यवसायीक उडान सुरु हुने प्राधिकरणको दाबी छ ।

२ वर्षमा भएको खर्च र ५ वर्षमा गर्ने लक्ष्य ?

प्राधिकरणले अन्तराष्ट्रिय विमानस्थलतर्फ आगामी ५ वर्षभित्र जग्गा अधिग्रहण र मुआब्जा वितरणमा मात्रै ५ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । यसबाहेक अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार विकासमा आगामी ५ वर्षमा २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने महत्वकांक्षी लक्ष्य प्राधिकरणको छ । 

प्राधिकरणले गएका २ वर्षमा अन्तराष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहणमा ३३ अर्ब रुपैयाँ खर्चिएको छ । विगतका २ वर्षमा विभिन्न अन्तराष्ट्रिय तथा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार विकासकम मात्रै ४९ अर्ब रुपैयाँ खर्च भएको छ । 

प्राधिकरणका राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधार निर्देशनालयका निर्देशक प्रदीप अधिकारीका अनुसार ५ वर्षमा ३ खर्ब ३६ अर्ब लगानी गर्ने योजना छ ।

आन्तरिकतर्फ के छ योजना ?

प्राधिकरणले आन्तरिक विमानस्थलको स्तरोन्नतिलगायतका पनि गुरुयोजना बनाएको छ । विराटनगर, नेपालगन्जलगायतका एयरलाई ‘हब’का रुपमा विकास गर्ने प्राधिकरणको योजना छ । ‘आन्तरिकतर्फ पर्नि सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने लक्ष्य छ’ निर्देशक अधिकारीले भने ।

पहाडी र हिमाली जिल्लाका विमानस्थलमा पनि कम्तीमा ४० सिट क्षमताका विमान उडान र अवतरण गर्न सक्ने गरी क्षमता विस्तार गर्ने प्राधिकरणको तयारी छ । हाल सञ्चालन भइरहेका आन्तरिक विमानस्थलको स्तरोन्नति र क्षमता विस्तार एवम् पूर्वाधार विकासमा आगामी ५ वर्षभित्र ४६ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । जग्गा अधिग्रहणमा ३४ अर्ब ६० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । गएका २ वर्षमा आन्तरिक विमानस्थलको पूर्वाधार विकासमा ६ अर्ब र जग्गा अधिग्रहणमा १ अर्ब रुपैयाँ खर्च भएको छ ।

जुम्ला, जोमसोम, रामेछाप लगायतका विमानस्थललाई हालको अवस्थाबाट क्षमता विकास गरी बैकल्पिक एयरपोर्टका रुपमा विकास गरिने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । मन्त्री भट्टराईले बनिसकेका हरेक विमास्थलले सेवासँगै व्यवसाय पनि गर्नुपर्ने र आफ्नो खर्च आफैँले जुटाउनुपर्ने बताएका छन् । ‘तराईका एयरपोर्टले त आत्मनिर्भर भएर मात्रै पुग्दैन, नाफा पनि कमाउनुपर्छ’ उनले भने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved