कोरोनाको बेवास्ता गर्दै निगमको जहाज जापानमा, मन्त्रीका मान्छे घुमाउँदा २० लाख स्वाहा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 03, 2020 | 06:31:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय उडान गर्ने विभिन्न देशका वायुसेवा प्रदायक कम्पनीहरुले आफ्नो उडान रोकेको भएपनि नेपाल वायुसेवा निगम भने जापान उडेको छ । अन्तराष्ट्रिय गन्तव्य विस्तार गर्ने आफ्नो लक्ष्य अनुसार निगमको जहाज सोमबार जापानको नारिता उड्यो ।

यसअघि जापानको ओसाकामा उडान गर्दै आएकोमा निगमले रुट परिर्वतन गरेर नारिता उडान थालेको हो । कोरोना भाइरसका कारण आफ्ना नागरिकको मृत्युसमेत हुन थालेपछि जापानले देशभरका सबै विद्यालय बन्द गरेको छ । केही क्षेत्रमा आपतकालको पनि घोषणा गरेको छ । तर त्यसमा सहानुभूतिको सट्टा निगमको जहाज भने तामझामका साथ नारिता पुग्यो ।

१५ जना निगमको खर्चमा नारिता भ्रमणमा

नारिता जाँदा निगमले प्रधानमन्त्रीका प्रेस संयोजकसहित १५ जनालाई सम्पूर्ण खर्च व्यहोर्दै जापान लग्यो । टिममा निगमले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँ, सांसदहरु कृष्णप्रसाद दाहाल, गणेशकुमार पहाडी, सरलाकुमारी यादवलाई सम्पूर्ण खर्च ब्यहोर्ने गरी नारिता लिएर गएको छ ।

निगमकै प्रवन्ध निर्देशक गणेशबहादुर चन्द, निगमको वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल, इन्जिनियर अच्युतराज पहाडी पनि निगमकै खर्चमा नारिता पुग्न सफल भए । पत्रकारहरु कालिका खड्का, राजेश राई, निमाकुमारी काफ्ले पनि नारिता पुगेका छन् । उनीहरुलाई नारितामा रहँदा खाने, बस्ने, घुमफीर गर्ने लगायतका सबै खर्च निगमले नै ब्यहोर्ने छ ।

यती मात्रै नभई, खगेन्द्र अधिकारी, बेन्जु सुवेदी, बोधमाया यादव र प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङ पनि निगमको उडानमा जापान पुगे ।

खर्च कति ?

निगमले नारिता उडानका लागि एकतर्फी भाडा ३७ हजार रुपैयाँ तोकेको छ । आउने जाने (दुईतर्फी) भाडादर भने ७३ हजार रुपैयाँ छ । यो हिसाबमा १५ जनालाई दुईतर्फी भाडा ब्यहोर्दा मात्रै निगमको १० लाख ९५ हजार रुपैयाँ खर्च हुनेछ । त्यहाँ बस्दा, खाँदा हुने खर्च जोड्दा अझ बढ्नेछ । निगमले १५ जनालाई घुमाउँदा भाडासमेत गरी करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान छ।

सोमबार बिहान १ः१५ बजे नारिता उडेको निगमको एयरबस वाइडबडी जहाजमा २२० यात्रु थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved