चीनबाट नेपालीको उद्धार खर्च साढे ५ करोड, जहाजको भाडा मात्रै डेढ लाख डलर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 04, 2020 | 05:41:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीको उद्वार गर्दा करिब ५ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेर फागुन ४ गते बिहान १७५ जना नेपाली विद्यार्थीलाई चीनको वुहानबाट उद्वार गरेर काठमाडौँ फर्किएको थियो । 

यसरी भयो साढे ५ करोड खर्च

सरकारले चीनबाट नेपालीको उद्वार गर्न ६ करोड रुपैयाँ छुट्याएको थियो । मन्त्रिपरिषद्ले यो रकम पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, रक्षा र स्वास्थ्य मन्त्रालयलाई तिर्नुपर्ने गरी छुट्याईएको हो ।

नेवाल वायुसेवा निगमलाई तिर्नुपर्ने रकम सोझै तिर्ने भएपनि अन्य निकायमा बुझाउनुपर्ने रकम भने मन्त्रालयमार्फत तिर्नुपर्ने प्रावधान छ । पर्यटन मन्त्रालयमार्फत पर्यटन विभाग, रक्षा मन्त्रालयमार्फत नेपाली सेना, परराष्ट्र मन्त्रालयमार्फत चीनस्थित दूतावासलाई र स्वास्थ्य मन्त्रालयमार्फत मातहतको निकायलाई तिर्नुपर्ने छ । 

दूतावासलाई तिर्ने पैसा दूतावासले विमानस्थलसम्म विद्यार्थीलाई ल्याउन प्रयोग भएका सवारी साधनको भाडा, त्यहाँ चिकित्सकले गरेको परीक्षण शुल्क लगायतमा भूक्तानी गर्नेछ ।

निगमले ४ करोड ४२ लाख रुपैयाँ खर्च भएको बिल पर्यटन मन्त्रालयमा पठाएको छ । यसअघि ‘खर्च सार्वजनिक नगर्न माथिको आदेश छ’ भनेको निगमले मन्त्रालयमा भने बिल पठाएको पुष्टि भएको छ । यसबाहेक नेपाल ल्याएपछि विमानस्थलबाट क्वारेन्टाइनस्थलसम्म विद्यार्थीलाई लैजान प्रयोग भएका पर्यटकीय बसको भाडा पर्यटन विभागलाई बुझाउनुपर्ने छ । उद्वारपछि सेनाका ४ जना चिकित्सकले गरेको स्वास्थ्य जाँच, रेखदेख र निगरानीसहित प्रयोग भएका सेनाका स्वास्थ्य उपकरण र सवारी साधनको समेत पैसा तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

कसरी भयो निगमको साढे ४ करोड खर्च ?

निगमले हवाई इन्धन, हवाई भाडादर, जहाजमा हुवान गएकाहरुको सम्पूर्ण खर्च आफूले ब्यहोरेको भन्दै खर्च बढी भएको जनाएको छ । निगमले खर्चको बिवरण बुझाउँदा एक घण्टा जहाज उडेको १६ हजार डलर शुल्क जोडेको छ । नेपालीको उद्वार गर्न जाँदा र आउँदा गरी निगमको जहाज साढे ९ घण्टा उडेको थियो । निगमले उडान अवधिको शूल्क १ लाख ५२ हजार अमेरिकी डलर उठेको जनाएको छ । 

नेपाल एयरलाइन्सले जहाजलाई ४८ घण्टा क्वारेन्टाइनमा राखिएको अवधिमा जहाजले कमाउन सक्ने अनुमानित रकमसँगै जहाजमा चीन गएर फर्केका ३ जना उडान दलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको अवधिको समेत क्षति समावेश गरेर बिल पठाएको स्रोत बताउँछ ।

पर्यटन मन्त्रालयका सूचना अधिकारीसमेत रहेका सह–सचिव सुरेश अचार्यका अनुसार निगमले आफ्नो लागतबारे मन्त्रालयमा जानकारी गराईसकेको छ । ‘एनएसीले आफ्नो भएको खर्चको बिल पठाईसकेको छ, त्यसमा जहाज नउड्दा भएको क्षतिलाई समेत खर्चमा समावेश गरिएको छ’ उनले भने, ‘निगमले जहाज ग्राउण्डेड भएको अवस्थामा भएको क्षतिको ५० प्रतिशत मात्रै जोडेर एकदमै कम मात्रामा आफ्नो खर्च देखाएको छ, यसलाई धेरै भन्न मिल्दैन ।’ 

भूक्तानी कहिले ?

निगमले आफ्नो खर्च बुझाएपनि अन्य निकायको खर्च भने मन्त्रालयमा पुगेको छैन । सेना, पर्यटन विभागलगायतले उद्वारको क्रममा भएका आफ्नो खर्च बुझाउन ढिलाई गर्दा भूक्तानी पनि ढिलै हुने मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव रुद्रसिंह तामाङको भनाई छ । 

‘निगमले आफ्नो खर्चको बिवरण बुझायो, अन्य निकायबाट भएको खर्चको बिवरण आउँन बाँकी छ’ उनले भने, ‘बिवरण नआएपनि हामीले निगमबाट आएको खर्चको बिल भने अर्थ मन्त्रालयमा पठाएका छौँ, अर्थले सहमति दिएपछि मन्त्रिपरिषद्बाट अनुमोदन हुनुपर्छ र त्यसपछि मात्रै निगमले भूक्तानी पाउँछ ।’

सूचना अधिकारी आचार्य भने ६ करोड रुपैयाँ मन्त्रिपरिषद्ले छुट्याउने निर्णय गरेपनि त्यो सबै पैसा खर्च नहुने बताउँछन् । ‘अधिकतम साढे ५ करोड रुपैयाँ जति खर्च हुन्छ होला’ उनले भने ।

यसअघिः

नेपालीको उद्वार खर्च कति ? कसले तिर्छ पैसा ?

चीनबाट भएको नेपालीको उद्धार खर्च सार्वजनिक नगर्न ‘माथिको आदेश’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved