गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सकियो

रासस

रासस

Mar 12, 2020 | 04:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ । 

अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन् । यही हिसाबले गौतमबुद्ध विमानस्थल अर्को अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२१ को शुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

निर्देशक अधिकारीका अनुसार अहिले यो विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम बाँकी छ । टर्मिनलभित्र उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । कोरोनाकै प्रभावले गौतमबुद्ध विमानस्थललाई त्यति धेरै असर नगर्ने निर्देशक अधिकारीको भनाइ छ ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । आयोजनामा चिनियाँ कामदार केही समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले काममा तत्कालका लागि केही अवरोध सिर्जना भएको निर्देशक अधिकारीको भनाइ थियो ।

सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो ।

विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन् । यीमध्ये केही चीनतिरै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेनटाइनमा छन् । यता गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले अबको दुई महिनाभित्र विमानस्थल सञ्चालनको भौतिक संरचना निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिए ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved