कोरोनाले हवाई क्षेत्रमा भयावह क्षतिः ३ महिनामा ४२२ करोड गुम्यो

कर्मचारीलाई बेतलवी बिदा, पाइटलको तलबमा भारी कटौती
निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2020 | 04:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण सबैभन्दा अस्तव्यस्त बनेको पर्यटन क्षेत्र सरकारको राहत प्याकेज आउने आशामा छ । पर्यटनमा पनि उड्डयन व्यवसाय निकै धाराशायी बनेको छ । हेलिकप्टर, एयरक्राफ्ट जहाज र ट्रंक रुटमा उड्ने विमान कम्पनीहरु बढी मर्कामा परेका छन् । 

कहिले आउलान अब विदेशी पर्यटक ?

प्रमुख सिजनमा नै कोभिड–१९ को असर विश्वव्यापी रुपमा फैलिएपछि अबको २ वर्षसम्म उड्डयन क्षेत्र पूर्ववत् अवस्थामा फर्किन नसक्ने उड्डयन व्यवसायीहरुको अनुमान छ । 

लकडाउन सुरु हुनु अगाडी १० हजार पर्यटक नेपाल आईसकेका थिए । बसन्त ऋतुमा नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै थियो, तर अचानक कोभिड–१९ को महामारीका कारण मूलुक लकडाउन भयो । अन्तराष्ट्रिय हवाई उडान स्थगित भए । पर्यटकहरु धमाधम बुकिङ रद्द गर्न थाले ।

कोरोनाको त्रास पैदा हुनुपूर्व नै हिमाल आरोहणका लागि १ हजार २८४ जनाले अनुमति लिईसकेका थिए । एयरलाइन्स अपरेटरर्स एसोसियसनले यसलाई राम्रो बुकिङ भनेको थियो । हिमाल आरोहणमा जाने पर्यटक नेपालको लागि स्तरीय पर्यटक मानिन्छन् । 

एयरलाइन्स अपरेटरर्स एसोसियसनका प्रवक्ता योगराज कँडेल सन् २०२२ को मार्च सिजनमा अहिले आउन नपाएका पर्यटकहरु नेपाल आउने आशा व्यक्त गर्छन् । ‘कोभिडको त्रास सकिएपछि र बीचमा कुनै महामारी आइनपरे अहिले आउन चाहेका पर्यटक २०२२ को मार्चमा पक्का आउनेछन्’ उनले भने, ‘अहिलेको माहामारी रोकिएपछि पनि मान्छेलाई विश्वास लाग्न वर्षदिन लाग्छ ।’ 

नेपालमा आउने पर्यटकहरु ६ महिना कमाउने र ६ महिना घुम्ने खालका हुन् । केही महिनाभित्रै कोरोनाको त्रास कम भएपनि सन् २०२० भरी कोही पनि पर्यटक नेपाल नआउने व्यवसायीहरुको अनुमान छ । 

‘२०२० मा कोही पनि आउँदैनन्, त्यसपछि ६ महिना उनीहरुलाई काम खोज्न समय लाग्छ’ कँडेल भन्छन्, ‘कमाउन अर्को ६ महिना लाग्छ र कोरोना छैन भनेर विश्वास गर्न फेरि अर्को ६ महिना लाग्छ ।’ 

कर्मचारीलाई बेतलवी बिदा 

हवाई प्रदायक कम्पनीहरुले अहिले कर्मचारी कतौटी भने गरिसकेका छैनन् । तर अवस्था यस्तै रहे कर्मचारीहरुलाई पाल्न मुस्किल पर्ने उनीहरुको भनाई छ । सबैजसो हवाई सेवा प्रदायक कम्पनीहरुले चैत्र महिनाको तलब आफ्ना कर्मचारीको खातामा पठाईसकेका छन् । 

‘चैत्रको करिब करिब सबैले पठाईसकेका छन्, बैशाखको ५० प्रतिशत मात्रै पठाउने तयारीमा छौँ’ एयरलाइन्स अपरेटरर्स एसोसियसन स्रोतले भन्यो, ‘व्यवसाय सूचारु नभए कर्मचारीहरुले जेष्ठ महिनाको तलब २५ प्रतिशतसम्म पाउन सक्छन् कि भन्ने हाम्रो अपेक्षा हो । तर हामीले कर्मचारीलाई तपाईहरु बेतलवी बिदामा बस्नुपर्ने पनि हुन सक्छ भनेर जानकारी गराईसकेका छौँ ।’ 

८५ प्रतिशतको रोजगारी कटौती

नेपालको उड्डयन क्षेत्रमा हाल ७ हजारको हाराहारीले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । अप्रत्यक्ष रुपमा रोजगारी पाउनेको संख्या करिब १० हजार छ । 

कोरोना भाइरसको माहामारी अन्त्य भएपछि पनि यो संख्या घट्ने निश्चित प्रायः छ । सुरुमा एउटा कम्पनीले अहिले रहेका कर्मचारीहरुको जम्मा १५ प्रतिशत मात्रै फर्काउन सक्ने कँडेलको भनाई छ । अहिले मासिक ५ लाख तलब बुझ्ने पाइलटले २ लाखमा काम गर्नुपर्ने अवस्था आउने उनले बताए । 

‘एउटा कम्पनीसँग ५ वटा हेलिकप्टर वा ६ वटा प्लेन छन् भने लकडाउन खुल्नासाथ उसले सबै त उडान सक्दैन’ उनले भने, ‘एउटा, दुईवटा गरेर थप गर्दै लैजाने हो, त्यसैले लकडाउन खुलेको ६ महिनासम्म यसअघि रहेका कर्मचारीको करिब १५ प्रतिशत मात्रै फर्किने छन् ।’ 

योसँगै कर्मचारीहरुले हालको तुलनामा कम पारिश्रमिक पाउने अवस्था आउने व्यवसायीहरुको भनाई छ । नेपालमा हेलिप्टर बाहेक जहाज उडाउने कम्पनीहरु मात्रै ९ वटा छन् । 

नोक्सान कति ?

व्यवसायीको भनाईलाई आधार मान्ने हो भने उनीहरुले पछिल्लो ३ महिनामा ७.३४ मिलियडन डलर नोक्सान भएको छ । बसन्त ऋतुको पर्यटकीय सिजनमा नेपाल आउने पर्यटक पनि धेरै हुने र पर्वतारोहण पनि यही सिजनमा हुने भएकाले पर्यटन व्यवसायीहरुले वार्षिक व्यापारको ७० देखि ८० प्रतिशत व्यापार यही सिजनमा गर्दै आएका थिए । 

मार्चको दोस्रो हप्तासम्म उडान भएपनि त्यसपछि निरन्तर लकडाउन रहेका कारण उडान भएका छैनन् । मार्च र अप्रिलमा उडान नभएको र मे महिनामा पनि उडान हुने संकेत नदेखेका व्यवसायीहरु यो तीन महिनामा लुक्ला र जोमसोम (डलर फेयर बढी हुने क्षेत्र)को उडानबाट मात्रै हवाई कम्पनीले ९७ करोडको कारोबार गुमाएको बताउँछन् । यो अवधिमा हेलिकप्टर कम्पनीले १२० करोडको कारोबार नोक्सान गर्नेछन् । 

ट्रंक रुटमा उडान भर्दै आएका बुद्ध, यति र सिम्रिक एयरले मात्रै २०५ करोडको नोक्सानी व्यहोर्ने देखिएको छ । यी तीन कम्पनी यो सिजनमा बिहान बिहान हुने माउण्टेन फ्लाइटबाट ९० करोड र ट्रंक रुटको फ्लाइटबाट ११५ करोडको कारोबार गुमाएका छन् । 

कैलाश मानसरोबर क्षेत्रमा मात्रै गतवर्ष ३० करोडको कारोबार गरेका हेलिकप्टर कम्पनीले यसवर्ष ४० करोड बढीको कारोबार गर्ने लक्ष्य राखेका थिए । यो लक्ष्यसमेत गुमेको छ । सम्रगमा ‘नेपाल भ्रमण वर्ष २०२०’ समेत सुरु भएका कारण एयरलाइन्स व्यवसायीहरुले १४ अर्ब वार्षिक कारोबारको आँकडा गरेका थिए ।

सरकारलाई कति घाटा ?

एयरलाइन्स व्यवसायबाट मात्रै सरकारले करोडौँ रुपैयाँ कर उठाउँदै आएको थियो । तर यसवर्ष कोरोना भाइरसले सबैभन्दा धेरै यही क्षेत्रमाथि प्रहार भएका कारण सरकारले आफ्नो राजश्वसमेत गुमाउने छ । 

एयरलाइन्स अपरेटरर्स एसोसियसनका प्रवक्ता कँडेलका अनुसार व्यवसायीहरुले कारोबारको १५ प्रतिशत कर बुझाउँदै आएका थिए । 

‘हामीले ट्रान्जेक्सनको १५ प्रतिशत कर राज्यलाई बुझाउँथ्यौँ, त्यसबाहेक अडिट गरेर प्रमाणित भएपछि आर्जन गरेको नाफाको २५ प्रतिशत आयकरसमेत बुझाउँथ्यौँ’ कँडेलले भने ।

सरकारसँग ४ माग

एयरलाइन्स व्यवसायीहरुले सरकारसँग मुख्यगरी ४ वटा माग प्रस्तुत गरेका छन् । ‘सरकार निर्णय गर्दैन, तै पनि पर्खिराखेका छौँ’ एक जना व्यवसायीले भने । उनीहरुका मुख्य माग यस्ता छन्ः

१) बैंकको ४ किस्ता रि–सेड्युलिङ

‘हामी चैत्र मसान्तदेखि ४ किस्ता तिर्न सक्ने अवस्थामा छैनौँ । चैत्र मसान्त, असार मसान्त, असोज मसान्त र पौष मसान्तको ब्याज साँवामा जोड्दै आगामी चैत्र मसान्तमा तिर्ने व्यवस्था गरिदिन माग गरेका छौँ । तर बैंकले हामीलाई नसोधी चैत्र महिनाको ब्याज खाताबाट काटेको छ । हामी तिर्नुपर्ने पैसा हो, थियो काट्यो भनेर बसेका छौँ । यदि सरकारले रि–सेड्युलिङ गर्दियो भने भएको पैसा तत्काल बैंकलाई तिर्नुपर्ने थिएन र कर्मचारी कटौती गर्नुपर्ने बाध्यताबाट मुक्त हुने थियौँ ।’ 

२) रि–फाइनान्सिङ

‘रि–फाइनान्सको सुविधा ६ महिनालाई मात्रै पाउने व्यवस्था छ । यो राष्ट्र बैंकले व्यवसायीलाई ६ महिनाको लागि गर्ने अभ्यास पनि थियो । अहिले हामीले यो माग गरेका छौँ । रि–फाइनान्सको सुविधा सरकारले एउटा व्यवसायीलाई एकपटक मात्रै दिन सक्ने व्यवस्था हो ।’

३) ब्याजदरमा सहुलियत

४) बीमा सुविधा

‘एयरलाइन्स व्यवसायीहरुले अहिले जहाज नउडेको अवस्थाको पनि बीमा शुल्क तिर्दै आएका छन् । बीमा कम्पनीहरुले ‘फुल फ्लाइट कभरेज’को पैसा असुलिरहेका छन् । जहाज नउडेको अवधिमा १० प्रतिशत मात्रै शुल्क तिर्दा हुने भएपनि सरकारले सहजिकरण नगरिदिँदा पूरै शुल्क तिर्नुपरेको छ । जहाजको बीमा विदेशी कम्पनीमार्फत हुने गरेको छ । उनीहरुलाई भन्दा ‘जहाज उडाउनु’ भनेर उत्तर दिने गरेका छन्, तर अहिले जहाज उडाउने अवस्था छैन ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved