अब जहाजले क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2020 | 05:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा लकडाउनका कारण हवाई उडान बन्द छ । कहिलेकाही हुने चार्टड उडानबाहेक अहिले विमानस्थल सुनसान अवस्थामा छन् । पर्यटकीय सिजनमा समेत पर्यटकीय गन्तव्यका विमानस्थल सुनसान भएको पहिलो पटक हो । सन् १९६० को दशकपछि अवरोधका चाङ पन्छाउँदै यात्रारत पर्यटन क्षेत्रले कोरोनाबाट थला परेको छ । 

मे १५ पछि उडान खुल्ने संकेत

सरकारले पछिल्लो पटक थप गरेको लकडाउन अवधि वैशाख २५ गतेसम्म कायम नै रहनेछ । त्यसपछि के हुने भन्नेबारे निर्णय भएको छैन । बैशाख २५ सम्म लकडाउन कायम रहेपनि आन्तरिक र बाह्य हवाई उडान भने मे १५ तारिखसम्म नै स्थगित हुनेछन् । 

मे १५ पछि भने उडान सुरु गर्ने मनशायमा सरकार पुगेको छ । छोटो दूरी र ट्रक रुटमा उडान भर्ने जहाजहरुलाई सुरक्षा व्यवस्था अपनाएर उडान खुला गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले छलफल थालेको छ । सरकारले पछिल्लो पटक लकडाउन अवधि लम्ब्याउनु अगाडीदेखि नै यसबारे छलफल भएको भएपनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मे १५ सम्म हवाई उडान बन्द नै राख्ने निर्णय गरेको थियो । 

उच्चस्तरीय समितिले यस्तो निर्णय गरेपनि प्राधिकरणले भने छलफल छोडेको छैन । छिमेकी देश भारतमा एयरलाइन्सहरुले मे १५ पछिका लागि बुकिङ लिन सुरु गरिसकेको अवस्थामा नेपालमा पनि उडान खोल्नेबारे छलफल भएको हो ।

प्राधिकरणले सरकारले उडानका लागि स्वीकृति दिने वित्तिकै अलमल नहोस् भनेर कार्यविधि बनाउन लागिएको जनाएको छ । उसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगका निर्देशिका बनाउन लागेको हो ।

क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने

प्राधिकरणको सरकारको स्वीकृति पाउनसाथ हवाई उडान खोल्ने जनाएपनि विभिन्न सर्त भने राख्ने भएको छ । पुरै सिट क्षमता अनुसार जहाज भरेर उडान गर्न नदिने, जहाज भित्र सामाजिक दूरी कायम गर्नुपर्ने, एसी चलाउन नदिने, हरेक उडानपछि जहाजलाई डिसइन्फेक्सन गराउनुपर्ने लगायत सर्त राखेर निर्देशिका बनाईने प्राधिकरण स्रोतले जनाएको छ । 

‘जहाज भित्रको अवस्था व्यवस्थापन गर्नेबारे हामी छलफल गरिरहेका छौँ’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘जोखिम न्यूनीकरण गरेर उडान सूचारु राख्न सकिने धेरैभन्दा धेरै विकल्पमा हामी छलफलमा छौँ, सरकारले उडान खोल्ने निर्णय गरेपछि उडान थाल्ने योजनासहित हामी योजना बनाउँदैछौँ ।’ 

प्राधिकरण स्रोतका अनुसार नीजि क्षेत्रका हवाइ प्रदायक सेवा कम्पनीहरुले भने पूर्ण क्षमतामा उडान गर्न पाउनुपर्ने गरी निर्देशिका जारी गर्न प्राधिकरणलाई अनुरोध गरिरहेका छन् ।

एयरलाइन्स आफैँ निर्देशिका बनाउँदै

हवाइ उडान सूचारु गर्न माग गर्दै आन्तरिक उडान भर्ने हवाई सेवा प्रदायकहरुले दबाब दिँदै आएका छन् । नाकाहरुमा थप कडाई गर्दै आन्तरिक उडान सूचारु राख्दा जोखिम नहुने नीजि क्षेत्रका हवाई सेवा प्रदायकहरुको दाबी छ ।

निजी क्षेत्रको बुद्ध एयरले उडान निर्देशिका नै जारी गरेको छ । बोर्डिङ पासदेखि उडान दलका सदस्यसम्मका लागि नियम बनाएको बुद्धले सरकारले उडान स्थगित फुकुवा गर्नासाथ उडान गर्न तयार रहेको संकेत गरेको छ । बुद्धले यात्रुको तापक्रम जाँच गर्ने, भौतिक सम्पर्क बिना नै चेकजाँच गर्ने, जहाज भित्रको शौचालय बन्द गर्ने र टर्मिनलदेखि जहाजसम्म यात्रु लिने गाडीमा पनि दुरी कायम गर्ने, हरेक बिन्दुमा यात्रुले स्यानिटाइजरले हात सफा गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने निमय नै बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved