नेपालीलाई सित्तैमा ल्याइदिन्छु भन्दापनि जजिराले पाएन थप उडानको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 02:47:33 PM मा प्रकाशित

laxmi sunrise bank

कुवेतको जजिरा एयरले नेपालमा उडान अनुमति नपाएको बताएको छ । लकडाउनका कारण कुवेतमा अलपत्र नेपालीलाई निशुल्क काठमाडौँ ल्याईदिन्छौ भन्दा पनि अनुमति नपाएको जजिरा एयरले बताएको छ । जजिराले केही दिन अघि ३ वटा उडानमार्फत ४५० जना नेपाली (८ जना बच्चासहित) लाई काठमाडौँ ल्याईदिएको थियो । 

सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्दा नेपाल वायु सेवा निगमका २४, हिमालयन एयरलाइन्सका १९ र अन्य विदेशी विमान कम्पनीका २४ उडान गर्ने जनाएको थियो । जेठ २२ बाट उद्दार थालेको सरकारले निशुल्क तिम्रा नागरिक ल्याईदिन्छु भन्ने वायु सेवा कम्पनीलाई अनुमति नदिनु आश्चर्यको विषय भएको सरोकारवालाको भनाई छ । 

जजिरा एयरका नेपालस्थित अपरेशन प्रमुख जुन १४ तारिखमा कुवेतबाट नेपाली ल्याउन जुन १३ तारिखमा दिईएको अनुमति पछि फिर्ता लिईएको बताउँछन् । 

‘हामीले जुन १४ मा फ्लाइट गर्न जुन १३ मै अनुमति पाएका थियौँ’ उनले भने, ‘तर पछि अनुमति क्यान्सिल गरिएको खबर आयो ।’ उनले अनुमति दिएर पछि रद्द गर्नुको कारणबारे आफूहरुलाई केही जानकारी नगराईएको बताएका छन् ।

जजिराले जुन ११ र १२ तारिखमा ३ वटा उडानमार्फत ४५० जनालाई निशुल्क काठमाडौँ ल्याएको थियो । जुन १४ मा पनि जजिराले निशुल्क नै नेपाली नागरिकलाई काठमाडौँसम्म ल्याईदिने भन्दै अनुमति माग गरेर पाएको थियो । तर पछि सोही अनुमति रद्द गरिएको थियो ।

अपरेशन प्रमुख अनिशका अनुसार जुन १६ तारिखका लागि पनि उडान अनुमति माग गरिएको छ । तर आज जुन १५ सम्म अनुमति पाएको छैन । जजिराले जुन १४ सम्म निशुल्क र त्यसपछिका उडानमा भने शुल्क लाग्ने जनाएको थियो । 

मन्त्रालय स्रोतले भने उद्दार गरेर ल्याईने नेपालीहरु राख्ने ठाउँको अभाव रहेको र अहिले स्थानको प्रवन्ध मिलाउने काम भईरहेकाले तत्काल उडान अनुमति नदिएको बताएको छ । 

‘राख्ने ठाउँको अभाव हुने जस्तो देखियो, उद्दार उडानको अनुमति दिने काम केही पातलो गर्नुपर्यो भनेर विभिन्न निकायबाट सुझाव आएका कारण अहिले दिईएन’ पर्यटन मन्त्रालय स्रोतले भन्यो, ‘कुवेतबाट अस्ति जजिराले नै ल्याएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ, यसले व्यवस्थापनमा केही चूनौती थप्ने देखिएकाले उडान अनुमति नदिईएको हो ।’ 

तर विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरुले भने विदेशबाट नेपालीलाई निशुल्क ल्याउने भन्दा पनि टिकट काट्न लगाएर शुल्क उठाएरै ल्याउनुपर्ने र त्यसको लागि टिकट काट्ने काम आफू मातहतको एजेन्सीले पाउनुपर्ने विवादका कारण जजिराले उडान अनुमति नपाएको आरोप लगाएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved