‘निषेधाज्ञा नखोले सरकारले नसोचेको अवस्था आउँछ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2020 | 03:26:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १७ गतेबाट हवाइ उडान सूचारु हुन्छ भन्ने आशमा बसेका हवाइ कम्पनीहरु फेरि निराश भएका छन् । आन्तरिक हवाइ उडान खोल्ने मिति नै तोकिएको अवस्थामा तयारी भएर बसेका उनीहरु हवाइ उडान थप १५ दिन स्थगित राख्ने निर्णय आएपछि निराश भएका हुन् । 

सरकारले भदौ १६ गतेबाट सिमित अन्तराष्ट्रिय उडान सुरु गरेपनि आन्तरिक उडान भने स्थगित नै राखेको छ । आन्तरिक उडान खोल्नुपर्ने माग राख्दै आएका हवाइ सेवा प्रदायक कम्पनीहरुले भने सरकारले निषेधाज्ञा जारी राखेर गल्ती गरेको बताएका छन् । 

‘विश्व सबै खुल्दै छ, हाम्रो सरकार भने हप्ता हप्ता दिन गरेर निषेधाज्ञा बढाउँदै छ’ वायुसेवा प्रदायक संघका कोषाध्यक्षसमेत रहेका बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी भन्छन्, ‘लकडाउन गरेर संक्रमितको संख्या घट्छ भन्ने मुर्खता कायम राखेर सरकारले गल्ती गर्दैछ ।’ 

उनले हवाइ सेवा मात्रै नभई लकडाउन नै खोल्नुपर्ने बताएका छन् । स्वास्थ्य प्रोटोकल पालना गरेर सबै क्षेत्र खोल्नुपर्ने उनको भनाई छ । 

‘मानिसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानाहरु खान प्रेरित गर्ने, मास्क, स्यानिटाइजर प्रयोग गर्न सुचित गर्ने र भौतिक दूरी कायम गर्न भन्ने जस्ता प्रोटोकलहरु पालना गराउनु पर्छ’ जोशी भन्छन्, ‘तर हाम्रो सरकार उल्टो हिड्दैछ, यहाँ मजदूरले खान नपाउने भइसके ।’

‘सरकारमा बसेका मान्छेहरुको न तलब घटेको छ, न खान नपाउने अवस्था छ’ उनले थपे, ‘हामीले भनेको सरकारले नबुझेको हो की, बुझेर पनि बुझ बचाएको हो की ? अथवा हामीले नै बुझाउन नसकेको हो की ?’

उनले ट्याक्सी चालक र गाडीका मजदूरको अवस्था दयनीय भएको भन्दै सरकारले बेलैमा बुद्धि नपुर्याए नसोचेको अवस्था आउने चेतावनी दिए । सबै तयारी सकेर बस्दा पनि उडान अनुमति नदिनु सरकारको कमजोरी भएको उनको आरोप छ ।

बुकिङ भएका टिकट के हुन्छन् ?

सरकारले सेप्टेम्बर १६ सम्म आन्तरिक हवाइ उडान बन्द गर्ने भनेपछि यसअघि काटिएका टिकट के हुन्छन् भन्ने प्रश्न उठेको छ । तर अहिले पनि अनलाइनबाट भने टिकट बुकिङ खुल्ला नै राखिएको छ । 

‘भदौ १६, १७ का लागि बुक भएका टिकटको पैसा फीर्ता हुन्छ, अनलाइनबाट बढी काटिएको हुनाले ट्राभल कम्पनीले अनलाइनबाटै पैसा फीर्ता गर्छ’ जोशीले भने, ‘पैसा फीर्ताको कुरा भन्दा पनि जनताले पाएको सास्तीको कुरा ठूलो हो ।’

भदौ १ अगाडीदेखि नै बुद्ध एयरसहित विभिन्न एयरलाइन्स कम्पनीले टिकट बुकिङ खुल्ला गरेका थिए । बुद्धले मात्रै विभिन्न गन्तव्यका लागि ३ देखि ४ सयको हाराहारीमा बुकिङ पाएको थियो । अरु एयरलाइन्सको समेत हेर्दा करिब १२ सय टिकट बुकिङ भईसकेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved