नेपाल एयरलाइन्सलाई जहाज किन्न कसले देला ९ अर्ब ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 10:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडान गर्न थप ५ वटा जहाज किन्ने प्रक्रिया सुरु गरेको छ । यसअघि ६ वटा चिनियाँ जहाज नउडाउने निर्णय गरेको निगमले थप जहाज किनेर आन्तरिक उडानको संख्या बढाउने योजना अघि सारेको हो ।

निगमले एटिआर–७२ सिरिजका २ वटा र ट्विनअटर जहाज ३ वटा किन्ने गरी आन्तरिक उडानको व्यावसायिक योजना बनेको जनाएको छ । नायब महाप्रबन्धक गणेशचन्द्र ठाकुरको संयोजकत्वमा बनेको आन्तरिक उडानको व्यवसायीक योजना प्रस्ताव समितिले एटिआर–७२ र ट्विनअटर गरी ५ वटा जहाज किन्न ९ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । निगम सञ्चालक समिति स्रोतका अनुसार सोही समितिले प्रस्ताव गरेको योजना अनुसार सञ्चालक समितिले खरिद प्रक्रिया सुरु गर्नेछ । 

बजेट नै छैन 

नयाँ जहाज खरिद गर्ने व्यवसायीक प्रस्ताव आएपनि निगमसँग जहाज खरिदका लागि बजेट नै छैन । यसअघि खरिद गरिएको वाइडबडी जहाजको किस्ता तिर्नै सकस ब्यहोरिरहेको नेपाल एयरलाइन्सलाई व्यवसायिक योजना (नाफा कमाउने) नआएसम्म सरकारले पैसा नदिने बताईसकेको छ । जहाज ल्याएर उडाएर निगमलाई नाफामा लैजाने योजना आए मात्रै बजेट व्यवस्थापन गर्न सकिने अर्थ मन्त्रालयको संकेत पाएपछि निगमले अनौपचारिक रुपमा प्रस्ताव पनि पठाइसकेको छ । 

बजेट व्यवस्थापनका लागि अर्थले व्यवसायिक योजना खोजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमलाई व्यवसायिक योजनासहित नयाँ जहाज खरिदको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । मन्त्री भट्टराईको निर्देशन र अर्थले खोजेको व्यवसायिक योजना अनुसार नै निगमले आफ्नो योजना तयार पारेको निगम स्रोतको दाबी छ । 

‘हामीले बनाएको समितिले व्यवसायिक योजनाको खाका तयार पारेको छ, अब यो निगमको सञ्चालक समितिमार्फत अर्थमा जान्छ’ निगम स्रोतले भन्यो, ‘पर्यटन मन्त्रालय आफैँले पनि निगमले तयार पारेको योजना अर्थमा पठाउन सक्छ, यसपटक अर्थबाट बजेट छुट्टिन्छ ।’ 

विगतको सुझाव कार्यान्वयन तीब्र

नेपाल एयरलाइन्सको व्यवसायिक हिस्सा गुम्दै गएको, विश्सनीयता कमजोर बन्दै गएको भन्दै केही समयअघि निगम सुधार सुझाव कार्यदल बनेको थियो । उक्त कार्यदलको संयोजक रहेका पूर्व पर्यटन सचिव सुशील घिमिरे अहिले निगमको कार्यकारी अध्यक्ष छन् । आफैँ संयकेजक रहेको कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने जिम्मा उनी स्वयम्लाई सरकारले दिएपछि कार्यदलमै सदस्य रहेका डिम प्रकाश पौडेललाई पनि सरकारले निगमको सञ्चालक समिति सदस्य बनायो ।

अहिले विगतमा आफूहरुले दिएका सुझावको कार्यान्वयनको सुरु गरिएको सञ्चालक समिति सदस्य पौडेल बताउँछन् । निगमलाई कम्पनी मोडलमा लैजान दिईएको बाहेकका अरु सुझाव भने क्रमशः लागू हुने चरणमा छन् । नयाँ जहाज किन्ने, तीनको व्यवसायिक मोडल तयार पार्ने, आन्तरिक उडानको संख्या बढाउने जस्ता काम अघि बढाईनु सोही सुझाव कार्यान्वयनकै पाटो भएको उनको भनाई छ । तर यसका लागि मन्त्री भट्टराई जत्तिकै निगम नेतृत्व पनि दत्तचित्त भएर लाग्नुपर्ने पौडेल बताउँछन् ।

अहिले निगमसँग चिनियाँबाहेक ३ थान ट्विनअटर जहाज रहेपनि २ वटा मात्रै उड्छन् । अन्तर्राष्ट्रिय उडान गर्ने एयरबस ३३०–२०० सिरिजका दुई वटा वाइडबडी, एयरबस ३२०–२०० सिरिजका दुई वटा न्यारोबडीसहित ४ वटा जहाज छन् । यी ४ जहाजमार्फत निगमले ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दैै आएको छ । 

यसअघिः

नेपाल एयरलाइन्सले गर्‍यो चिनियाँ जहाज नउडाउने निर्णय

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved