हवाइ उडान खुल्दै, यी ३ गन्तव्यबाट एयरलाइन्सहरु आशावादी

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 15, 2020 | 03:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले असोज ५ गतेबाट आन्तरिक हवाइ उडान खोल्ने निर्णय गरेसँगै एयरलाइन्सहरु हौसिएका छन् । आन्तरिक गन्तव्यमा उडान गर्दै आएका हवाइ सेवा प्रदायक कम्पनीहरुले यसअघि देखि नै टिकट बुकिङ खुल्ला गरेपनि खासै बुकिङ भएको थिएन । तर, सोमबारको मन्त्रिपरिषद्को बैठकले चाडपर्वहरु नजिकिएको भन्दै यातायातमा सहज गराउने उदेश्यले असोज ५ बाट उडान खोल्ने निर्णय गरेपछि अब पहाडी गन्तव्यका लागि टिकट बुकिङ गर्नेको संख्या बढ्ने एयरलाइन्सहरुको विश्वास छ ।

यी ३ गन्तव्यमा बढी अपेक्षा

नियमित समयमा सबैभन्दा धेरै यात्रु रहने गन्तव्य काठमाडौँबाट विराटनगर, भैरहवा, चितवन र पोखरा हुन् । यी गन्तव्यमा नियमित रुपमा विभिन्न एयरलाइन्सले दैनिक ४ वटासम्म उडान गर्दै आएका थिए । अब उडान खुल्ने भएपछि एयरलाइन्सहरुको अपेक्षा पनि पूरानै गन्तव्यमा यात्रु बढ्नेछन् भन्ने नै रहेको बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीको भनाई छ । 

टिकट बुकिङ गर्ने ट्राभल कम्पनीहरुले हाल विराटनगर, पोखरा र भैरहवाका लागि टिकट बुकिङ गर्नेहरु बढी रहेको बताएका छन् । नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभल एजेण्ट (नाट्टा) का पूर्व अध्यक्ष सि.एन. पाण्डे यात्रु जुन गन्तव्यतिर धेरै आउने देखिन्छ, त्यतैको टिकट बुकिङको जिम्मा लिन ट्राभल कम्पनीहरुबीच पनि प्रतिस्पर्धा हुने गरेको छ । 

‘ठ्याक्कै तथ्यांक त हामीसँग छैन, कुल टिकट सेलिङको ५० प्रतिशत मात्रै ट्राभल कम्पनीबाट बुक हुन्छ, बाँकी सबै अनलाईनबाट हुन्छ’ नाट्टाका पूर्व अध्यक्ष पाण्डेले भने, ‘अहिलेसम्मको बुकिङ हेर्दा विराटनगर, पोखरा र भैरहवाकै लागि बढी बुक भएको देखिन्छ, अब केही समय उडान भईसकेपछि वास्तविक फिगर आउँछ ।’

अनलाइन बुकिङ बढ्दो

केही वर्ष अघिसम्म एयरलाइन्सको टिकट खरिद गर्न ट्राभल कम्पनीमा नै पुग्नुपर्ने बाध्यता थियो । तर पछिल्लो ३ वर्ष यता अनलाइनमार्फत टिकट बुकिङ गर्नेहरु बढेका छन् । डिजिटल पेमेन्ट गेटवे सेवा प्रदान गर्दै आएको इ–सेवाले एयरलाइन्सको टिकट बुकिङ सेवा पनि सुरु गरेपछि अहिले कुल बिक्रि भएका टिकटमध्ये ५० प्रतिशत अनलाइनमार्फत नै खरिद गरिएका हुन्छन् ।

‘अहिले इ–सेवा, आईएमई पे र खल्तीबाट टिकट बुकिङ गर्न सकिन्छ’ बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख जोशी भन्छन्, ‘यी बाहेक एयरलाइन्सकै वेवसाइटबाट पनि टिकट काट्नेहरु छन्, ट्राभल कम्पनीबाट हुने बुकिङ ५० प्रतिशत हो ।’ 

कुल टिकट बुकिङको ५० प्रतिशत हिस्सा अनलाइनले ओगटेको छ । त्यसमा पनि कुल बिक्रि भएका टिकटको २५ प्रतिशत इ–सेवा एक्लैले बिक्रि गर्ने गरेको छ । 

‘जम्मा सेल भएका टिकटको २५ प्रतिशत बुकिङ इ–सेवाबाटै हुन्छ’ जोशीले भने ।

नाट्टाका पूर्व अध्यक्ष पाण्डे एयरलाइन्सनै पिच्छे फरक फरक ट्राभल एजेन्सी हुने भएकाले एयरलाइन्सले आफ्नो सिस्टम खोलेपछि उसको सम्पर्कको ट्राभल कम्पनीलाई मात्र थाहा हुने र सोही अनुसार बुकिङ हुने बताउँछन् । उनले तत्काल अन्तराष्ट्रिय व्यवसायीक उडानलाई व्यवस्थित रुपमा खोलेर नेपाललाई ‘होलिडे डेस्टिनेशन’ का रुपमा विश्वभर चिनाउनु पर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved