आन्तरिक उडान सोमबारदेखिः संख्या ७५ प्रतिशत कटौती, भाडा यथावत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 02:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारदेखि आन्तरिक हवाइ उडान सेवा नियमित रुपमा सञ्चालन हुँदैछ । कोरोना भाइरसको संक्रमणका कारण चैत्रदेखि बन्द रहेको हवाइ उडान सेवा ७ महिनापछि पुनः सूचारु हुन थालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाजको सिट क्षमता अनुसार नै यात्रु राखेर उडान गर्न अनुमति दिईसकेको छ ।

नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सरकारले सबै गन्तव्यमा उडान गर्न अनुमति दिएको बताए । उनले स्ट्रंक र ट्रंक रुट दुबै खालका गन्तव्यमा उडान अनुमति पाएकाले एयरलाइन्सहरुले सोही अनुसार तयारी गरेको बताएका छन् ।

पोखरामा डेमो उडान

नेपाल वायुसेवा सञ्चाल संघले सोमबार बिहान पोखरामा २ वटा ‘डेमो उडान’ गर्दै छ । बुद्ध एयर र यती एयरका जहाजमार्फत बिहान सरकारी अधिकारी र संघका पदाधिकारीलाई बोकेर उडान गरिने प्रवक्ता कँडेलले बताए । उनका अनुसार सोमबार बिहान ७ः४५ बजे यती एयरको जहाज काठमाडौँबाट पोखरा उड्नेछ भने बिहान ८ बजे बुद्धको विमान पोखरा जानेछ ।

यी २ उडानमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, उपमहानिर्देशक राजकुमार क्षेत्री, संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, उपाध्यक्ष, महासचिव, प्रवक्तासमेत पोखरा पुग्नेछन् । 

‘संघले नेपाली गन्तव्यमा सुरक्षित रुपमा जहाज उडान हामी सक्षम छौँ भन्ने सन्देश दिन यसो गर्न लागिएको हो’ प्रवक्ता कँडेलले भने, ‘यो समाचार देशैभर पुर्याउन त्यहाँ पुगेर हामीले पत्रकार सम्मेलन पनि गर्छौ ।’

भाडा नबढ्ने 

वायुसेवा प्रदायक कम्पनीले सिट क्षमता अनुसार नै यात्रु बोकेर उडान भर्ने अनुमति पाएपछि भाडा नबढ्ने भएको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने र भाडा ५० प्रतिशत बढी लिन पाउने भनिएपछि वायुसेवा सञ्चालक संघले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न नसकिने अडान लिएको थियो । त्यसपछि पर्यटन मन्त्रालयले विमानहरुलाई पूरै सिट क्षमता अनुसार यात्रु बोक्ने दिने निर्णय गरेको हो ।

सबै सिटमा यात्रु राख्न पाउने भएपछि वायुसेवा कम्पनीहरु भाडा नबढाउन सहमत भएका हुन् । सरकारले तोकेका सबै किसिमका स्वास्थ्य मापदण्ड पालना गराएर उडान गर्न आफूहरु तयार रहेको संघका कोषाध्यक्ष एवम् बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी बताउँछन् । 

उडान संख्या कटौती

सरकारले सबै गन्तव्यमा उडान अनुमति दिएपनि वायुसेवा प्रदायकले उडान संख्या भने कटौती गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच तत्काललाई पूर्ण क्षमताको २५ प्रतिशत मात्रै उडान गर्ने सहमति भएको छ । असोज ५ गते सोमबारदेखि ९ दिनसम्म पहिलो चरणमा २५ प्रतिशत मात्रै उडान गर्ने र त्यसपछि ९ दिनको अनुभवका आधारमा उडान संख्याबारे थप छलफल हुनेछ ।

‘अहिले २५ प्रतिशत मात्रै उडान गर्न वायुसेवा प्रदायक कम्पनीहरुलाई अनुमति दिईएको छ’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने, ‘पहिला जुन कम्पनीको जहाज जहाँ जान्थ्यो, उ अब पनि त्यही जान्छ । फरक यति हो की, लकडाउन अगाडी ताराले लुक्लामा दैनिक ९ उडान गर्थ्यो भने अब ३ मात्रै गर्न पाउँने छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved