ओम्नी समूहले तिरेन चीनबाट औषधि ल्याउँदाको प्लेन भाडा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2020 | 10:31:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण फैलिदो क्रममा रहेका बेला सरकारले औषधि खरिद गर्नुपर्ने बाध्यता थियो । पर्याप्त औषधि नभएको अवस्थामा मौज्दातलाई बलियो बनाउन भन्दै सरकारले औषधि खरिदको जिम्मा ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनललाई दियो । तर, कम्पनीले समयमा नै औषधि ल्याउन सकेन र सम्झौता रद्द भयो ।

यो कम्पनीले चीनबाट एक खेप स्वास्थ्य उपकरण ल्यायो । सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो । तर, हालसम्म पनि ओम्नीले नेपाल वायुसेवा निगमलाई तिर्नुपर्ने चार्टड उडानको भाडा तिरेको छैन ।

ओम्नीले निगमको जहाज ८ घण्टा ३० मिनेट प्रयोग गरेको थियो । निगम स्रोतका अनुसार एक घण्टाको १८ हजार २ सय डलर भाडा लिनेगरी जहाज पठाईएको थियो । यसका आधारमा निगमले ओम्नीबाट १ करोड ८४ लाख ६२ हजार बढी उठाउन बाँकी छ ।

‘हामीले एक घण्टाको १८ हजार २ सय डलरमा चार्टड गरेका हौँ, पैसा उठ्न बाँकी छ’ निगम स्रोतले भन्यो, ‘उहाँहरुले एक फ्लाइट मात्रै उडान गर्नुभयो, हाम्रो जहाज ८ घण्टा ३० मिनेट उडेको रेकर्ड छ ।’ 

त्यतिबेला पर्यटन मन्त्री योगेश भट्टराई जमानी बसेर जहाज उडाईएको थियो । तर मन्त्री जमानी बसेको चार्टड उडानको भाडा ७ महिना बितिसक्दा पनि निगमले पाउन सकेको छैन ।

सरकारले चैत्र १९ गते ओम्नीसँगको औषधि खरिदको सम्झौता रद्द गरेको थियो । सम्झौता रद्द गर्दा ओम्नीले १८ करोड बराबरको सामान ल्याएको थियो । सरकारले ओम्नीको ६ करोड रुपैयाँ धरौटी जफत पनि गरेको थियो ।

मन्त्री किन जमानी बसे ?

अन्तर्राष्ट्रिय उडानका लागि आकाशको अनुमति पाउन सामान्यतः ७२ घण्टा लाग्छ । तर, नेपालसँग त्यतिबेला ७२ घण्टा कुर्ने समय थिएन । जतिसक्दो चाँडो औषधि ल्याउनुपर्ने थियो, यसका लागि जतिसक्दो चाँडो उडान हुनुपर्ने थियो ।

त्यसकारण जतिसक्दो छिटो उडान अनुमतिका लागि मन्त्री भट्टराई आफैँ सक्रिय भएर लागेका थिए । चैत्र १५ गते मन्त्री भट्टराई विमानस्थलमै थिए । सोही दिन स्वास्थ्य उपकरण लिन जहाज पठाउनुपर्ने थियो । धेरै प्रयास गर्दा पनि चार्टड उडानको लागि आकाश प्रयोग गर्न जहाजले अनुमति पाउने अवस्था थिएन । 

त्यसपछि मन्त्री भट्टराईले आफ्ना सबै संयन्त्रहरु प्रयोग गरे । परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल पनि भयो र १२ घण्टामा नै भारत, बंगलादेश, म्यानमार र चीनको आकाश हुँदै उड्न पाउने गरी नेपाल एयरलाइन्सको चार्टड विमानले ‘रुट परमिट’ पायो । 

रुट तय भएपछि निगमले चार्टड उडानको १ लाख ५३ हजार अमेरिकी डलरको बिल स्वास्थ्य मन्त्रालयमा पठायो । तर स्वास्थ्यले तत्काल पैसा तिर्न नसक्ने उत्तर दिएपछि बाध्य भएर मन्त्री भट्टराई जमानी बसेका थिए । मन्त्री भट्टराईले विमान चार्टडको रकम भुक्तानी दिलाईदिने जिम्मा लिएपछि विमान चीनतर्फ उडेको थियो ।  तर स्रोतले स्वास्थ्यले ओम्नी समूहलाई उसले ल्याएको १८ करोड बराबरका औषधिको पैसा तिरिसकेको दाबी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved