विदेशी एयरलाइन्सको ‘ग्राउण्ड ह्याण्डलिङ’ सुविधा खोसेर निगमलाई दिने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 02:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशी एयरलाइन्स कम्पनीको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा खोस्ने तयारी थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २ वटा विदेशी वायुसेवा प्रदायक कम्पनीले काठमाडौँ विमानस्थलमा पाउँदै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा खारेज गर्ने तयारी गरेको हो ।

हिमालय एयरलाइन्सलाई काठमाडौँस्थित त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिएपछि विवादित बनेर पर्यटन मन्त्री भट्टराईले हिमालयलाई अहिलेकै अवस्थामा ग्राउण्ड ह्याण्डलिङ सुविधा नदिन भनेका थिए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएरै मन्त्री भट्टराईले हिमालयसँगै अरु एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ सुविधा पुनरावलोकन गर्न निर्देशन दिएका थिए ।

मन्त्रीले निर्देशन दिएलगत्तै प्राधिकरण ग्राउण्ड ह्याण्डलिङ नियमन गर्ने निर्देशिका अनुसार थाइ एयरवेज र एयर इन्डियाको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा खारेज गर्ने तयारीमा जुटेको हो । निर्देशिकामा जनशक्ती, मेशिनरी औजार, ५ करोड बराबरको बीमा र हप्तामा ३५ उडान गरेको हुनुपर्ने प्रावधान छ ।

ग्राउण्ड ह्याण्डलिङ निगमलाई नै

प्राधिकरणले थाइ र एयर इन्डियाको अनुमति खारेज गरेर नेपाल वायुसेवा निगमबाटै ग्राउण्ड ह्याण्डलिङ सुविधा लिन निर्देशन दिने भएको छ । निर्देशिका अनुसार हुनुपर्ने व्यवस्था भए नभएको अनुगमन गर्ने काम भईरहेको र मापदण्ड पूरा नगरेको पाईए अनुमति खारेज गरिने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

‘अहिले मापदण्ड के कति पूरा गरेका छन् भनेर अनुगमन गर्ने काम भईरहेको छ’ महानिर्देशक पोखरेलले भने, ‘पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरेको पाईए अनुमति खारेज गर्छौँ र नेपाल एयरलाइन्सबाटै सेवा लिन निर्देशन दिन्छौँ ।’ 

नेपालमा सेवा सुरु गरेदेखि नै थाइ एयरवेज र इन्डियन एयरले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफैँ गर्दै आएका थिए । सुरुदेखि नै सेवा उपभोग गर्दै आएका कारण प्राधिकरणले हरेक वर्ष नविकरण गर्ने गरेको छ । 

निगमले अहिले पनि व्यवसायीक ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको छ । निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ पनि निगमले नै गर्ने भएको छ । यसका लागि प्राधिकरण र निगमबीच सहमति भईसकेको छ । अन्तिम सम्झौता भने हुन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved