४ वर्षपछि बढ्न लागेको हवाई भाडा कति पुग्ला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 01, 2020 | 10:55:08 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई इन्धनको मूल्य महँगो भएको निश्कर्ष निकालेको छ । हवाई इन्धनको मूल्य महँगो भएकै कारण हवाई भाडा महँगो हुन गएको निश्कर्ष सहित पर्यटन मन्त्रालयले मूल्य समायोजनसहित हवाई भाडा बढाउने गृहकार्य थालेको छ । 

पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितीमा भदौ २२ गते नै मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुबीच भएको छलफलले हवाई इन्धनको मूल्य अधिक रहेका कारण भाडा बढी रहेको निश्कर्ष निकालेको हो । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित एक कार्यदलले गत वर्षको मंसिरमा नै बुझाएको प्रतिवेदनमा पनि अन्तराष्ट्रिय उडान भर्ने एयरलाइन्सले प्रयोग गर्ने फ्युलको मूल्य घटाउन सुझाव दिईएको थियो ।

भाडा बढाउने गृहकार्य

पर्यटन मन्त्रालयले हवाई इन्धनको मूल्य बढी हरको ठहर गर्दै हवाई भाडा बढाउने गृहकार्य सुरु गरेको खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन उपमहानिर्देशक नरेन्द्र थापाको नेतृत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनमा भाडा वृद्धि गर्न भनिएको छ । सोही अनुसार गृहकार्य थालिएको मन्त्रालय स्रोतले बताएको छ ।

चार वर्षपछि सुरु भएको हवाई भाडा बढाउने गृहकार्यअनुसार सो प्रतिवेदनकै आधारमा भाडा बढ्ने हो भने १५ देखि २५ प्रतिशतसम्म भाडा बढ्नेछ । सो प्रतिवेदनले दिएको सुझाव अनुसार ट्रंक रुटमा १५ देखि २० प्रतिशत र सर्ट रुटमा २५ प्रतिशतसम्म भाडा बढाउने प्रस्ताव गरिएको छ । 

मन्त्री भट्टराईकै उपस्थितीमा केही दिनअघि भएको प्रतिवेदन माथिको छलफलमा निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीसँग छलफल गरेर उनीहरुको राय सुझाव पनि समावेश गर्न भन्दै उक्त प्रस्ताव प्राधिकरणमा नै फर्काईएको छ । 

४ वर्षपछि भाडा समायोजन हुँदै

नियम अनुसार हरेक दुई दुई वर्षमा हवाई भाडा समायोजन गर्नुपर्ने हो । तर, चार वर्षदेखि भाडा समायोजन हुन सकेको छैन । निजी क्षेत्रका हवाई सेवा प्रदायकले भाडा बढाउन माग गर्दै आएका छन् ।

‘भाडा बढाउने वा नबढाउने भन्ने कुरा सरकारले निर्धारण गर्ने हो’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘भाडा बढाउने भनेर यति नै लिन पाउने भनेर सरकारले भन्ने होइन, सरकारले अधिकतम सीमा तोकिदिने हो, त्यही भित्र रहेर एयरलाइन्सहरुले भाडा लिनुपर्छ ।’ 

मन्त्रालयका अधिकारीहरुका अनुसार दशैँ तिहार अगाडी नै भाडा बढाउने मनस्थितीमा मन्त्री भट्टराई देखिएका छैनन् । चाड पर्वहरुको समयमा यात्रुहरु ओहोरदोहोर गर्दा हवाई भाडा महँगो हुँदा उनीहरु मारमा पर्न सक्ने भन्दै मन्त्री भट्टराईले तत्काल हवाई भाडा बढाउने विषयलाई महत्व नदिएको बताइन्छ ।

इन्धनको मूल्य घटाउन प्रस्ताव

पर्यटन मन्त्रालयले हवाई इन्धनको मूल्य बढी रहेको भन्दै मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई अनुरोध गरेको छ । आयल निगमलाई नाफा कम राखेर हवाई इन्धन बिक्रिका लागि निर्देशन दिन अनुरोध गर्दै पर्यटन मन्त्रालयले वाणिज्यमा प्रस्ताव पठाएको हो ।

पर्यटनले वाणिज्यमा पठाएको प्रस्तावमा अन्तराष्ट्रिय उडानको नभई आन्तरिक उडानको इन्धन मूल्य समायोजन गर्न प्रस्ताव गरिएको छ ।

हाल आन्तरिक उडान गर्ने एयरलाइन्सहरु प्रतिलिटर ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरु प्रतिलिटर ०.८६८ अमेरिकी डलर अर्थात् १०२.३८ रुपैयाँ मूल्य तिर्दै आएका छन् । भदौ २८ गते तोकिएको मूल्यसूची अनुसार नेपाल आयाल निगमले आन्तरिक तर्फ एक लिटरमा १०.४६ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ एक लिटरमा ४५.३९ रुपैयाँ नाफा कमाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved