माल पाएर चाल नपाएका निगमका संचालक, ७ अर्ब लगानी गर्दा उल्टै २ अर्ब नोक्सानी

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Nov 08, 2020 | 02:50:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले सरकारको स्वीकृति बिना नै जहाज ग्राउन्डेड गरेर राखिएको पाईएको छ।  निगमले अर्थ मन्त्रालयको स्वीकृति बिना नै ६ थान चिनियाँ जहाज ३ महिनादेखि ग्राउन्डेड गरेर राखेको पाइएको हो ।

२०७१ सालदेखि २०७४ सालसम्म अनुदान सहित खरिद गरेर ल्याईएको चिनियाँ जहाजले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै साउन १५ गते बसेको निगम सञ्चालक समितिले जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको थियो । निगम सञ्चालक समितिले नोक्सानी बढी भएको भन्दै चिनियाँ अनुदान तथा खरिद गरेर ल्याईएका ४ थान वाई–१२ ई र २ थान एमए–६० गरी ६ विमान ग्राउन्डेड गर्ने निर्णय गरेको तीन महिना बिति सकेको छ । 

सरकारको पूर्ण स्वमित्वमा सञ्चालन भएको जहाज र दुई देशबिचको सम्बन्धका कारण देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जहाज व्यवस्थापनको मोडालिटिको विषयमा अर्थ मन्त्रालयसँग राय मागेको छ । निगमहुँदै पर्यटनले पठाएको पत्रनै स्पष्ट नभएको भन्दै ग्राउन्डेड गरेको तीन महिना बितिसक्दा समेत अर्थ मन्त्रालयले स्वीकृति दिएको छैन् । 

निगम सञ्चालक समितिले ग्राउन्डेड गर्ने निर्णय सगैँ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा फाइल पुगेको थियो । निगमको निर्णय नै स्पष्ट नभएको भन्दै पुनः अर्थले जहाज खरिददेखि ग्राउन्डेडसम्मका कागजपत्र पुनः मागेको पर्यटन मन्त्रालयले जनाएको छ । 

अर्थबाट फिर्ता भएको फाइललाई आवश्यक प्रक्रिया पूरा गरेर पठाउन निगमलाई पत्र पर्ठाएपनि जवाफ आइनसकेको पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई बताउँछन् । 

‘जहाज खरिदको विषय दुई देशबिचको सम्बन्धसँग जोडिएको छ, खरिद गरेर ल्याएको भए आवश्यकता अनुसार हामीले निर्णय गर्न सक्थ्यौँ, खरिद सगैँ अनुदानको जहाज भएका कारण अर्थ मन्त्रालयसँग राय सगैँ स्वीकृति माग गरिएको हो’, उनले भने, ‘निगमबाट पुनः जवाफ आएपछि अर्थले आवश्यक निर्णय गरेर चिनियाँ पक्षलाई जानकारी दिएपछि व्यवस्थापनको टुङ्गो लाग्छ, कुर्ची, दराज खरिद गरेजस्तो सामान्य विषय हैन, जहाज खरिद सबै तिर मिलाउँदै नीति तथा नियम अनुसार काम गर्न समय लाग्नेसक्छ ।’ 

दुई देशबिचको सम्बन्धलाई देखाउँदै अर्थले पुनः सञ्चालन गर्न निगमलाई निर्देशन दिएमा जहाज सञ्चालनको विकल्प नभएको निगमका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार पूर्व कार्यकारी अध्यक्ष मदन खरेल कमिशनको प्रलोभवनमा परेर जहाज ग्राउन्डेड गर्दै आफू अनुकुलका पाइलटहरुलाई एयरबसको तालिममा पठाउँदा पाइलटले विरोध गरेका थिए । 

‘आफू अनुकुलका मान्छेलाई पठाएको भन्दै चिनियाँ जहाजमा कार्यरत सबै पाइलट तथा कोपाइलटले विरोध गर्दै जहाज नै उडाएनन्, खरेलले बिना तयारी भएका सबै पाइलटलाई एयरबसमा पठाउँदा स्वत ग्राउन्डेड भएर नोक्सान भयो । व्यवस्थापनको पाटोलाई नहेरी अहिलेको सञ्चालकले पुनः अको गल्ती गर्दै पुनः ग्राउन्डेड गर्ने निर्णय गर्यो’, निगममा कार्यरत एक पाइलटले बिजपाटीलाई भने । 

निगमले ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।

अनुदान तथा ऋणगरी ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ थान जहाजबाट निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved