चिनियाँ जहाजबाट निगमलाई ३ महिना मै ४ करोड नोक्सान

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Nov 09, 2020 | 11:12:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै चिनियाँ जहाज ग्राउन्डेड गरेको तीन महिना पूरा भएको छ । निगम सञ्चालक समितिले ग्राउन्डेडको निर्णय गरेको जहाज व्यवस्थापनका लागि अझै अर्थ मन्त्रालयबाट भने स्वीकृति पाएको छैन् । 

नोक्सान भएको भन्दै निगम सञ्चालक समितिले साउन १५ गतेदेखि चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णय गरेको तीन महिनामा ६ थान जहाजको पार्किङ तथा इन्स्युरेन्स बापत झन्डै ४ करोड खर्च भएको छ । तीन महिनाको अबधिमा निगमले इन्स्युरेन्स बापत ६ थान विमानको रकम ३ करोड ६० लाख र विमानस्थलको पार्किङ शुल्क करिव १० लाख गरी ३ करोड ७० लाख रकम बुझाउनु पर्ने हुन्छ ।

चिनियाँ कम्पनीको एम ए–६० जहाजको दैनिक पार्किङ शुल्क २ हजार ५ सय १४ रुपैयाँ र इन्स्युरेन्स वापतको एक हजार ६१ अमेरिकी डलर दैनिक खर्च हुने निगमले जनाएको छ । यसैगरी वाई–१२ ई जहाजको एक दिन विमानस्थल कार्यालयमा राखिएबापत विमानस्थल कार्यालयले ६ सय ८५ रुपैयाँ लिन्छ भने इन्स्योरेन्सबापतको ३ सय १५ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ ।

जहाज उडान तथा ग्राउन्डेड गरेर राखेतापनि वायुसेवा सञ्चालकले विमानस्थल कार्यालयलाई पार्किङ र इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्सको शुल्क बुझाउँनुपर्छ । विमानस्थलको पार्किङ शुल्क रुपैयाँमा परेतापनि इन्स्योरेन्सको शुल्क डलरमा बुझाउनुपर्ने हुन्छ । 

निगमले चीनबाट ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज अनुदान तथा खरिद गरेर ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।

अनुदान तथा ऋणगरी ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ थान जहाजबाट निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको जनाएको छ । 

कुन जहाज कहिले ल्याईयो ?

२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई थान वाई १२ ई र एउटा एमए–६० गरी तीन थान चिनियाँ विमान अनुदानमा नेपालले प्राप्त गरेको थियो । अनुदान बाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो ।

दुई देशबिच जहाज खरिदको सम्झौता भएको २ वर्षपछि अर्थात वि.स २०७१ कात्तिक १७ मा पहिलो जहाज स्वरुप वाई १२–ई विमान नेपाल ल्याइएको थियो । सुरुमा ०७१ मा एउटा एमए ६० र एउटा वाई १२ ई जहाज अनुदानमा ल्याइएको थियो । ०७३ मा निगमले एउटा एमए ६० र एउटा वाई १२ ई जहाज खरिद गरेर ल्याएको थियो । अर्को वर्ष ०७४ मा दुईवटा वाई १२ ई जहाज ल्याइएको थियो । चीनबाट आउँनु पर्ने अन्तिम विमान भने २०७४ फागुन १ मा नेपाल आइपुगेको थियो । 

कुन वर्ष कति नोक्सान ?

चिनियाँ जहाज उडाउन नसक्दा निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । 

निगमका अनुसार आर्थिक वर्ष ०७१÷७२ मा तीन करोड, आर्थिक वर्ष ०७२÷७३ मा नौ करोड,  आर्थिक वर्ष ०७३÷७४ मा १० करोड ३१ लाख र आर्थिक वर्ष ०७४÷७५ मा एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ ई बाट २८ करोड ९६ लाख गरेर जम्मा ६० करोड ६० लाख रुपैयाँ नोक्सान भएको थियो । 

यसैगरी गत आर्थिक वर्ष ०७५÷७६ मा दुईवटा एम ६० बाट २९ करोड ८४ लाख र चारवटा वाई १२ ई बाट २२ करोड ३६ लाख गरेर ५२ करोड २० लाख रुपैयाँ तथा ०७६÷७७ मा ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved