वायुसेवा सञ्चालकले भने, ‘अब लकडाउन गरिए थेग्न सकिँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 04:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको हो ।

“केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । छ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौँ श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायुसेवा कम्पनी ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु न्यायोचित हुँदैन”, विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ महामारीको सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाडौँ उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकैबीच भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो ।

सरकारले मङ्सिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन शुरु भइसकेको जनाएको छ ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन पनि सङ्घले माग गरेको छ । बन्दाबन्दीका बीचमा समेत सङ्क्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै सङ्घले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved