लकडाउनपछि थिलिथिलो बनेको पर्यटन क्षेत्र उकास्न नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले दुर्गम क्षेत्रमा उडान गर्ने भएको छ । हवाई यात्राको लागि सहज पहुँच विस्तार र ग्रामिण पर्यटन प्रवद्र्धनका लागि भन्दै बुद्ध एयरले दुर्गम क्षेत्रमा उडान गर्ने रणनीति लिएको हो ।
आगामी सेप्टेम्बरसम्म देशका दुर्गम क्षेत्रमा उडान भर्ने गरी बुद्धले योजना बनाईरहेको बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बहादुर बस्नेत बताउँछन् । यसका लागि पूर्व र पश्चिम क्षेत्रको उडानका लागि कुन विमानस्थललाई ‘बेस’ बनाउने पनि टुंगो लागिसकेको उनको भनाई छ ।
‘आगामी सेप्टेम्बरबाट हामीले दुर्गम क्षेत्रमा उडान गर्नैपर्ने छ, यसका लागि हामीले हाम्रो आन्तरिक तयारी सकेका छौँ, दुर्गममा जानका लागि हामीले काठमाडौँ होइन, अरु नै विमानस्थललाई बेस बनाएर जाने गृहकार्य भईरहेको छ’ बस्नेतले भने, ‘सम्भवतः अर्को हप्ता नै पर्यटन मन्त्रालयमा हाम्रो डकुमेन्ट पुग्छ, त्यसपछि हामी रुकुम, रोल्पा, ताप्लेजुङ सबैतिर पुग्छौँ ।’
‘पूर्वको बेस रामेछापको मन्थली एयरपोर्टलाई बनाउने र पश्चिमको बेस पोखरालाई बनाउने गरी हाम्रो गृहकार्य भईरहेको छ’ उनले थपे ।