निगम सुधारको लागि १० बर्षे कार्ययोजना पेश गर्दै महाप्रबन्धक पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 12:36:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको महाप्रबन्धका रुपमा नियुक्ति पाएका डिमप्रकाश पौडेलले निगम सुधारका लागि विभिन्न योजनाहरु अघि सारेका छन्। निगम सञ्चालक समिति सदस्यका रुपमा निगममा प्रवेश गरेर महाप्रबन्धकको नियुक्ती पाएका पौडेलले वेथितिले भरिएको निगम सुधारका लागि विभिन्न योजना बनाएर दैनिक काम सुरु गर्ने गरेको बताउँछन्।

आन्तरिक उडानका लागि नयाँ जहाज खरिद, उडान क्षेत्र, बजार व्यवस्थापन तथा शुल्क लगायत सबै क्षेत्रमा सुधार गर्नुपर्ने कुरालाई समेटेर १० वर्षे कार्ययोजना बनाईएको उनले बताए। उक्त कार्ययोजना पर्यटन मन्त्रीलाई बुझाउने तयारी भएको उनको भनाई छ। 

वाईडबडीको चार नयाँ गन्तव्य तयार 

उनकाअनुसार लामो दुरीको अन्तराष्ट्रिय उडानका लागि ल्याईएको २ थान एयरबस ३३० (वाईडबडी) उडानका लागि नयाँ उडान गन्तव्य छनौट गरिएको छ । लामो दुरीको उडान गन्तव्य नहुँदा जहाज खरिद गरेर ल्याएदेखि नै ग्राउन्डेड जस्तो बनेको जहाज अष्ट्रेलिया, कोरोना, चीन र साउदी अरबका लागि उडानको अन्तिम तयारी भएको छ । 

कोरोना संक्रमणका कारण नेपालले सबै उडान बन्द गरेको समयमा निगमका तीनै जहाजले अष्ट्रेलिया र चीनको लागि यात्रु तथा कार्गो उडान समेत गरेको थियो। वाईडबडीले चीनमा उडान सुरु गर्ने तयारी गरिरहदा कोभिड १९ का कारण स्थगन भएको थियो।

ऋण पुनर्तालिकीकरण र पुँजीकरणको प्रस्ताव 

यसैगरी पौडेलले एयरबस ३२०/३३० का २-२ थान जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण पुनर्तालिकीकरणका लागि सरकारसँग आग्रह गरेको छ।

दुई कोष बाहेक निगमसँग राष्ट्रिय वाणिज्य बैंक, हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको ऋण रहेको छ । सावाँ व्याजलाई जोडेर ऋणको  पुँजीकरण गर्नलाई समेत सरकारसँग निगमले आग्रह गरेको छ।  

आन्तरिक उडानलाई प्राथमिकता 

त्यस्तै आन्तरिक उडानको लागि नेपालको दुर्गम क्षेत्रको उडानलाई प्राथमिकता दिईने उनको भनाई छ। आन्तरिक उडानका लागि सुरुवाती चरणमा तीन थान जहाज खरिद गरेर दुर्गम क्षेत्रमा उडान गर्ने उनी बताउँछन्।   

‘सुगम क्षेत्रमा निजी एयरलाइन्सहरुको प्रतिस्पर्धा धेरै छ, निगमसँग उक्त क्षेत्रमा उडानका लागि आवश्यक जहाज समेत छैन’, उनले भने, ‘दुर्गम क्षेत्रको उडानलाई प्राथमिकता दिएर उडानको तयारी भएको छ, यसअघि निगमले दुर्गम क्षेत्रको उडानलाई प्राथमिकतामा राखेर उडान भर्दै आएको थियो ।’

हङकङको कडा नियमले उडान प्रभावित 

नेपालमा कारोना संक्रमणको नेगेटिभ रिपोर्ट लिएर उडान भरेका यात्रुमा पुनः संक्रमण पुष्टि भएसगैँ हङकङले चौथो पटक नेपाल एयरलाइन्सको उडानलाई प्रतिबन्ध लगाएको छ । सरकारी ल्यावको रिपोर्ट लिएर उडान गरेका यात्रुमा पुनः संक्रमण पुष्टि भएसगैँ नेपाली ल्यावमाथि नै प्रश्न उठ्दै आएको छ।

नेपाल एयरलाइन्समाथि मात्रै नभएर हङकङ सरकारले सबै देशका उडानमा कडाई गरेको निगमले जनाएको छ । नेपाल एयरलाइन्स मात्र नभएर हङकङले भारतको इन्डियन एयरलाइन्स, सिंगापुर एयरलाइन्स लगायतका एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाउँदै आएको छ। अन्तराष्ट्रिय उडानको लागि हङकङले अख्तियार गरेको मापदण्डकै कारण नेपाल लगायत बिश्वका उडानहरु प्रभावित भएका छन् । तर  हङकङले पटक पटक नेपाल एयरलायन्सलाई प्रतिबन्ध लगाएकाले  नेपाल एयरलायन्सको शाखमा असर परेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved