काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 08:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि बन्द रहेको काँगेलडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ । नेपाल वायुसेवा निगमको एन¬एबीयु विमानले मंगलबार ९ः०५ बजे परीक्षण उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन पेम्बा शेर्पाको नेतृत्वमा चालक दलका तीन सदस्यसहित १४ यात्रु लिएर उक्त विमान काँगेलडाँडा आएको र सोही सङ्ख्याको यात्रु लिएर काठमाडौँ फर्किएको प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए । विगत छ वर्षदेखि विमानस्थल बन्द हुँदा त्यहाँ कार्यरत प्राधिकरणका कर्मचारी अन्यत्र काजमा खटाइएको थियो । फाप्लु विमानस्थलका कर्मचारी परिचालन गरी आज परीक्षण उडान गरिएको बताइएको छ ।

नेपाल वायुसेवा निगम र थुलुङ दूधकोशी गाउँपालिकाबीच भएको सम्झौताअनुसार उडान सेवा शुरु भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । सम्झौताअनुसार प्रत्येक हप्ता मङ्गलबार उडान तालिका राखिएको छ । उडान भर्न आवश्यक १६ सिटको ग्यारेण्टी गाउँपालिकाले गर्नुपर्ने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले १० लाख धरौटी रकम जम्मा गर्नुपर्नेछ भने यात्रु सङ्ख्या कम हुँदा नेपाल वायुसेवा निगमले सोही रकम कट्टा गरी लिनेछ ।

मौसमी विमानस्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो र खोटाङका माथिल्लो क्षेत्रका नागरिकलाई समस्या हुँदै आएको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । सोही विषयलाई मध्यनजर राख्दै स्थानीय, प्रदेश र सङ्घीय सरकारको पहलमा पुनः उडान सेवा शुरु गरिएको अध्यक्ष राईको भनाइ छ । उडान नियमित हुँदा जिल्लाको तल्लो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा वृद्धि हुनका साथै स्थानीयवासीको आयस्रोतसमेत बढ्ने उनको विश्वास छ ।

उडान सेवा शुरु भएपछि यस क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा पहलकर्तालाई धन्यवाद दिँदै खुशी व्यक्त गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कात्तिक २१ गते सो विमानस्थलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले मङ्सिर तेस्रो हप्तादेखि उडान सेवा शुरु गर्ने बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved