पाइलटहरुले उडानका क्रममा फोटो भिडियो खिच्न नपाउने, टिकटकमा पनि रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 12:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अब उडानका क्रममा वायुसेवा कम्पनीका चालक दलका सदस्यहरुले भिडियो तथा फोटो खिच्न नपाउँने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, युट्युब र टिकटकमा चालक दलका सदस्यसँगै क्याबिन क्रुले अनावश्यक फोटो तथा भिडियो पोष्ट गर्न थालेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उक्त फोटो तथा भिडियो खिच्ने कार्य गर्न प्रतिबन्ध लगाएको हो । 

प्राधिकरण अन्तरगतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले उडान सञ्चालन मापदण्ड संशोधन गर्दै उक्त कार्यमा प्रतिबन्ध लगाएको हो । अब उक्त मापदण्ड अनुसार उडानका क्रममा वायुयानको चालक कक्ष (ककपिट) तथा बोर्डमा पाइलट, एयरहोस्टेस, इन्जिनियर, टेक्निसियन तथा फ्लाइट डिस्प्याचरले फोटो खिच्न पाउँदैनन् । 

केही दिनयता क्यापटेनले समेत उडानका क्रममा नै अनावश्यक भिडियो खिचेर पोष्ट गर्न थापेपछि उडानको सुरक्षामा ध्यान दिदै प्राधिकरणले उडान सञ्चालन मापदण्ड संशोधन गरेको हो । उक्त मापदण्ड लागु भएपछि अनावश्यक रुपमा फोटो र भिडियो खिच्ने सदस्यहरुलाई कारवाही हुने क्यानका अधिकारीहरु बताउँछन् । 

यदि भिडियो तथा फोटो खिच्न आवश्यक परे उडानअघि नै क्यानका महानिर्देशक वा सम्बन्धीत निकायका अधिकारीबाट लिखित अनुमति आवश्यक पर्ने जनाईएको छ । विभागले उक्त संशोधन मापदण्ड अनुसार आन्तरिक उडान तथा अन्तराष्ट्रिय उडान गर्ने सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरिसकेको जनाएको छ । 

यता आन्तरिक तथा अन्तराष्ट्रिय उडान गर्दै आएको सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले क्यानको निर्देशन अनुसार सबै सदस्यहरुलाई जानकारी गराइएको जनाएको छ । निगम अन्तरगतको अपरेशन विभागले सबै चालक दलका सदस्यहरुलाई जानकारी गराइसकेको जनाएको छ । 

निगमका केही क्यापटेन तथा क्याबिन क्रुले ककटपिटमा बसेर अनावश्यक भिडियो तथा फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । 

पछिल्लो समय नेपाल एयरलाइन्सका बरिष्ठ क्यापटेन विजय लामाले उडानका क्रममा ककपिटमा बसेर खिचेको भिडियो आफ्नो युटुब अकाउन्टमा पोष्ट गर्दै आएका छन् ।  उनी सामाजिक सञ्जालमा धेरै सक्रिय रहदैँ आएका छन् । 

क्यानको निर्देशन अनुसार चालक दलका सदस्यलाई मात्र उक्त नियम लागु हुनेछ भने यात्रुहरुले आफ्नो इच्छा अनुसारका फोटो तथा भिडियो खिच्न पाउँछन् ।

कोरोनाका कारण समस्यामा परेका वायुसेवा कम्पनीहरुले पछिल्लो समय पर्वतिय उडान गर्दै आएका छन् । आन्तरिक उडान गर्दै आएको बुद्ध र यती एयरले आन्तरिक पर्यटकलाई लक्षीत गर्दै पर्वतिय उडान गर्दै आएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved