पूर्वी क्षेत्रको उडानका लागि बुद्ध एयरले किन रोज्यो मन्थली एयरपोर्ट ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 11, 2021 | 02:40:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पूर्वी क्षेत्र (बिकट) मा हवाई उडानका लागि रामेछापको मन्थलीस्थित विमानस्थललाई आधार बनाउने घोषणा गरिसकेको छ । रामेछापलाई आधार बनाएर पूर्वको लुक्ला, ताप्लेजुङ र भोजपूरमा सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयरको योजना छ ।

किन रोजियो मन्थली एयरपोर्ट ?

‘काठमाडौँबाट सडक मार्गमार्फत नजिकको विमानस्थल भएको हुनाले हामीले मन्थली एयरपोर्ट रोजेका हौँ’ बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी भन्छन्, ‘काठमाडौँमा अत्याधिक एयर ट्राफिकिङ हुने भएकाले काठमाडौँबाट सिँधै लुक्ला उडान गर्न सकिँदैन । रामेछापबाट गर्दा मन्थली एयरपोर्ट आसपासका क्षेत्रको विकास पनि हुने र पर्यटकहरुलाई सास्ती पनि नहुने गरी हामीले योजना बनाएका छौँ । सबै तयारी करिब करिब सकिएको छ ।’

मन्थलीबाट लुक्ला, भोजपूर र ताप्लेजुङमा उडान गर्दा हवाई भाडा काठमाडौँको तुलनामा ४० प्रतिशतले घट्ने बुद्ध एयरको विश्वास छ । योसँगै उडान अवधि पनि छोटो हुने भएकाले मन्थली विमानस्थल आफूहरुको रोजाईमा परेको कम्पनीका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख जोशी बताउँछन् । मन्थली–लुक्ला उडान अवधि १७ मिनेटको र मन्थली–सुकेटार उडान अवधि ३८ मिनेटको हुने छ । मन्थली एयरपोर्ट स्तरोन्नति भईरहेकाले जहाज पार्किङ गर्न सजिलो हुने भएकाले मन्थली विमानस्थल रोजिएको जोशीको भनाई छ । 

‘हामी स्टलमा जाने भनेर लामो समयदेखि छलफलमा थियौँ, विराटनगरबाट गर्ने भन्ने पनि कुरा आएको थियो । तर, विराटनगरबाट उडान गर्नका लागि त विदेशबाट आएका पर्यटकलाई काठमाडौँबाट फेरि प्लेनमा नै विराटनगर पुर्याउनुपर्ने हुन्छ’ जोशी थप्छन्, ‘मन्थलीबाट गर्दा त काठमाडौँबाट पर्यटकलाई गाडीमा लैजान सकिन्छ, यो सस्तो पनि हुन्छ । हाम्रो मुख्य तार्गेट नै लुक्ला हो । लुक्ला जाने भनेको त पर्यटक नै हुन् ।’

उनले मन्थली विमानस्थलमा २ वटा जहाज राख्ने तयारी भईरहेको र यसका लागि २५ करोड चुक्त पूँजिसहित भगीनी संस्था यशोधरामार्फत काम गरिने बताएका छन् ।

मन्थलीमा भब्य होटल खोल्ने तयारी

बुद्ध एयरले मन्थलीमा २० रोपनी जग्गा खरिद गरेको छ । बिदेशबाट काठमाडौँ आएका पर्यटकलाई काठमाडौँमा नै खाजा खुवाएर आफ्नै गाडीमा राखेर मन्थली लैजाने र मन्थलीमा एक रात अनिवार्य बस्नैपर्ने गरी प्याकेज बनाईने जोशीको भनाई छ ।

‘मन्थलीमा हामीले राम्रै ठाउँमा जग्गा किनेका छौँ, ८ रोपनीमा होटल चलाउने भनेका छौँ’ जोशीले भने, ‘लजिङ र फुडिङको राम्रो व्यवस्था हुने गरी पर्यटक स्तरको होटल चलाउने योजनामा छौँ । होटल सञ्चालनको मोडल चाहिँ बुद्ध एयर आफैँले चलाउने वा आउट सोर्सिङबाट चलाउने भन्नेमा छलफल भईरहेको छ ।’

अर्को वर्षको मार्चबाट उडान

बुद्ध एयरले सबै तयारी सकेको जनाएपनि तत्कालै विदेशी पर्यटक आउने सम्भावना नदेखिएकाले यसअघि भनिएको सेप्टेम्बरबाट उडान नहुने भएको छ । मन्थलीमा जहाज नै राखेर पूर्वी भेगमा उडान गर्ने भनेको कम्पनीले अब २०२२ को मार्चबाट उडान गर्ने नयाँ मिति तोकेको छ ।

‘अहिले पर्यटक आइहाल्ने सम्भावना देखिएन, त्यसैले सेप्टेम्बरबाट उडान गर्न सक्ने अवस्था भएन’ जोशीले बिजपाटीसँग भने, ‘अब २०२२ को मार्चबाट उडान गर्ने भनेका छौँ ।’

यसअघिः

रामेछापमा बुद्ध एयरले किन्यो २० रोपनी जग्गा, पूर्व जाने पर्यटक मन्थलीमा बस्नैपर्ने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved