कसको स्वार्थमा हटाउन खोजियो काठमाडौँ एयरपोर्टबाट डिजेल बस ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 12, 2021 | 12:30:52 PM मा प्रकाशित

sarbottam cement

पौष २० गतेको बैठकमा वायुसेवा प्रदायक कम्पनीलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डिजेलबाट चल्ने बसहरु प्रतिस्थापन गर्ने जानकारी दियो । आफूहरुसँग कुनै छलफल नै नगरी एकाएक आएको निर्देशन र निर्णय मान्य नहुने भन्दै वायुसेवा सञ्चालक संघले आपत्ति जनायो । त्यसपछि प्राधिकरणले बसको प्रदूषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद गरिएको वर्ष, मौजुदा बसको संख्या जानकारी गराउन निर्देशन दिँदै बैठक सकियो ।

डिजेल बस हटाउन किन नहुने ?

बिजपाटी डटकमले वायुसेवा सञ्चालक संघलाई ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डिजेल बस हटाउन किन नहुने ?’ भनेर प्रश्न गर्यो । प्रश्नको जवाफमा संघका कोषाध्यक्षसमेत रहेका बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी भन्छन्, ‘अहिले कोभिडका कारण पर्यटन र हवाई क्षेत्र ध्वस्त भएको छ । यस्तो अवस्थामा करोडौँ आर्थिक भार पर्ने गरी विमानस्थलमा हामी विद्युतीय गाडी राख्न सक्दैनौँ । यो जानकारी हामीले प्राधिकरण र एयरपोर्टलाई पनि गराईसकेका छौँ ।’

‘यसअघि कहिल्यै छलफल नै नभएको विषयमा एकाएक मिटिङ राखेर आफ्नो निर्णय सुनाएपछि हामीले कसरी मान्न सक्छौँ ?’ जोशी प्रश्न गर्छन्, ‘भविष्यमा गर्ने भनिएको भए सोच्न हुन्थ्यो, तर हामी आजको भोली करोडौँ लगानी गरेर विद्युतीय बसहरु किन्न सक्ने अवस्थामा भए नभएको पनि नहेरी एक्कासी निर्देशन नै आएपछि नसक्ने कुरा सक्दैनौँ भनेका छौँ । यसबारे दोहोर्याएर केही कुरा पनि आएको छैन ।’

जोशीका अनुसार विमानस्थलका कर्मचारी र अन्य अधिकारीहरु पनि एकैपटक डिजेल बस विस्थापित गरेर विद्युतीय गाडी राख्न सकिन्न भन्नेमा ‘कन्भिन्स’ छन् । 

कति छन् डिजेलवाला गाडी ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुहरुलाई जहाजसम्म लैजाने र जहाजबाट ओर्लिएका यात्रुलाई टर्मिनलसम्म ल्याउने कामका लागि ३० वटा गाडी छन् । यीमध्ये सबैभन्दा धेरै बुद्ध एयरकै १२ वटा छन् । यसपछि यती एयरलाइन्सका धेरै गाडी छन् । तारा, सीता र सिम्रिक एयरले पनि आफ्नै गाडीमार्फत सेवा दिँदै आएका छन् । 

अन्तराष्ट्रिय उडानतर्फ भने नेपाल वायुसेवा निगमकै गाडीमार्फत यात्रुलाई जहाजसम्म लैजाने र ल्याउने गरिन्छ ।

स्वार्थ कसको ?

पर्यटन मन्त्रालयमा भानुभक्त ढकालको प्रवेश भएपछि यो एकाएक यो बहस छेडिएको हो । कुन चाहिँ गाडी बिक्रेताको स्वार्थमा बहस छताछुल्ल पारिएको हो भन्नेमा अहिले वायुसेवा प्रदायक कम्पनीहरु पनि केही बोलेका छैनन् ।

‘विद्युतीय गाडीको मूल्य एउटाको १ करोड ५० लाखदेखि २ करोडसम्म पर्ने रहेछ भनिएको छ, हामी अहिलेकै अवस्थामा यती धेरै इन्भेष्ट गर्न सक्ने क्षमतामा छैनौँ’ जोशी भन्छन्, ‘कसको स्वार्थमा यस्तो निर्देशन दिइन्छ र कसको स्वार्थमा सरकारबाट यस्ता असम्भव निर्णय हुन्छन् हामीलाई थाहा छैन ।’

जोशीले कसको स्वार्थमा यस्तो कदम चाल्न खुट्टा उचालिएको भन्ने आफूहरुलाई जानकारी नरहेको बताएपनि भेष बहादुर थापा अध्यक्ष रहेको सुन्दर यातायातलाई प्रवेश दिनका लागि यस्तो निर्णय गर्न लागिएको हुन सक्ने स्रोतले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved