चिनियाँहरु नफर्केपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अब भारतीय कामदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 02:20:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारहरु काममा नफर्किएपछि भारतबाट कामदार ल्याउने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लै चिनियाँ कामदार निर्माणस्थलमा नफर्किएपछि विकल्पको रुपमा भारतीय कामदार ल्याउने तयारी गरेको छ । 

विमानस्थल निर्माण कम्पनीले चीनबाट प्राविधिक ल्याउन नसकेपछि विमानस्थल आयोजना कार्यालयले भारतबाट विमानस्थलमा दक्षता हासिल गरेका कामदार ल्याउने तयारी गरेको जनाईएको छ । 

चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका कामदार निर्माण स्थलमा नर्फकदा भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणले गति लिन सकेको छैन । चिनियाँ नयाँ वर्ष चीन गएका कामदारहरु कोरोना महामारीका कारण निर्माणस्थलमा फर्किएका छैनन् । 

भौतिक संरचना निर्माण गरेर विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको उक्त विमानस्थलमा प्राविधिक नहुँदा आवश्यक उपकरण जडान हुन सकेको छैन । आवश्यक सबै उपकरणहरु निर्माण स्थलमा रहेतापनि प्राविधिक जनशक्ति नहुँदा जडान रोकिएको आयोजना कार्यालयले जनाएको छ । 

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । त्यसअनुसार दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो, तर छ वर्षसम्म पनि पूरा भएको छैन । स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद तथा भारतीय नाकाबन्दीका कारण ढिलाइ भएको भन्दै २०२० डिसेम्बरका लागि पाँचौ पटक म्याद थप गरिएको छ । 

पाँचौ पटक थपिएको म्याद भित्र बाँकी काम सम्पन्न गरेर सञ्चालनको तयारी भएको क्यानका अधिकारीहरु बताउँछन् । भैरहवा र पोखरा विमानस्थल २०७८ वैशाख १ गते सञ्चालनको तयारी भएको छ । विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन्  । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । हाल आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved