चिनियाँ कामदार नफर्केपछि भारतीयबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 04:16:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एक वर्षपछि प्राविधिक काम सुरु भएको छ । कोरोना भाइरसका कारण विमानस्थलमा कार्यरत चिनियाँ प्राविधिकहरु चीनमै रोकिदा ठप्प भएको प्राविधिक काम केही दिन अघिबाट सुरु भएको हो । 

चिनियाँ नयाँ वर्ष मनाउँन चीन गएका कामदारहरु कोरोना महामारीका कारण चीनमा नै रोकिदा गत वर्षको पुस अन्तीम सातादेखि विमानस्थल निर्माणले गति लिन सकेको थिएन । चिनियाँ प्राविधिक नहुँदा भौतिक संरचनाको निर्माण सकिएपनि उपकरण जडान रोकिएको थियो । 

एक वर्षसम्म चिनियाँ प्रावधिकहरु निर्माणस्थलमा नफर्किएपछि विमानस्थल निर्माण कम्पनीले विकल्पका रुपमा भारतीय कामदारबाट निर्माणको काम सुरु गरेको हो । विमानस्थल निर्माण काम गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले पहिलो चरणमा १० जना भारतीय कामदारबाट एसी जडानको काम सुरु गरेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । 

आयोजना कार्यालयका प्रमुख प्रवेश अधिकारीले चिनियाँ कामदार नहुँदा रोकिएको प्राविधिक काम सुरु भएको बताए। उनका अनुसार विमानस्थल निर्माण कम्पनीले एसी जडानका लागि सुरुवाती चरणमा १० जना भारतीय प्राविधिक ल्याएको छ । अन्य उपकरण जडानका लागि आवश्यक थप प्राविधिक केही दिनभित्रमा नै आइपुग्ने निर्माण कम्पनीले जानकारी दिएको उनले बताए। 

उनका अनुसार हाल एक सयभन्दा बढी भारतीय, चिनियाँ र नेपाली प्राविधिकबाट उपकरण जडानको काम भइरहेको छ । भारतीय कामदारबाट एसी जडान लगायतका प्राविधिक काम भएतापनि परीक्षण गर्न चिनियाँ कामदार नै आउनुपर्ने हुन्छ ।

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ५ वर्षपूरा हुँदा समेत सम्पन्न भएको छैन । 

विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन्  । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । हाल आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved