बुद्ध एयर प्रकरणः जहाज उडाएर पाइलटलाई मात्र प्रतिबन्ध किन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 01, 2021 | 01:50:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।

बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।

जहाज रिलिज

ल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।

‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’

उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।

गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । 

क्याप्टेनलाई प्रतिबन्ध किन ?

क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।

बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । 

चालक दलका सदस्यलाई प्रशिक्षण

प्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । 

‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved