निगम निजीकरणको कुराले नेपालमा भांडभैलो, भारतमा एयर इन्डिया १८ हजार करोडमा बिक्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 09:52:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नुनदेखि सफ्टवेयरसम्मको कारोबार गर्ने टाटा समूहले ऋणमा डुबेको भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया खरिद गरेको छ । एयर इण्डिया खरिदको लागि टाटा समुहले १८ हजार करोड भारुमा शिलबन्दी बोलपत्र पेश गरेको थियो ।

टाटाले कबुल गरेको मूल्य नै सबै भन्दा बढी भएकोले उसले एयर इण्डियाको शत प्रतिशत स्वामित्व लिएको हो। टाटा सन्सको कम्पनी टैलेस प्राइवेट लिमिटेडले यो डिल हात पारेको हो । एयर इण्डिया खरिद गर्नको लागि ७ कम्पनीले टेण्डर हालेका थिए ।

सम्झौता अनुसार टाटाले अब एयर इण्डियाको १५ हजार ३ सय करोडको ऋणको जिम्मा लिने छ भने बाँकि रकम भारत सरकारलाई नगद बुझाउने छ । टाटा समूहको विस्तारा विमानमा  ५१ र एयर एशिया लिमिटेडमा ८४ प्रतिशत स्वामित्व रहेको छ।

घाटामा र अरवौ ऋण भए पनि एयर इण्डियासँग भएको सम्पतिको कारण कम्पनीमा आकर्षण बढेको बताईएको छ । लण्डनको हिथ्रो विमानस्थलमा एयर इण्डियाको आफ्नै स्लट रहेको छ । कम्पनीसंग १३० विमान पनि छ । कम्पनीसँग ठूलो रकम बराबरको रियल स्टेट सम्पति छ । ६ महिना अगाडी कम्पनीको मुल्यांकन ६ अर्ब डलर गरिएको थियो ।

सन् १९३२ मा एयर इण्डियाको जन्म भएको थियो । टाटा समुहले नै यस कम्पनीको सुरु गरेको थियो । यो बेला यसलाई टाटा एयरलायन्स रहेको थियो। सन् १९४६ मा टाटा एयरलाइन्स पब्लिक कम्पनी बनेको थियो त्यही बेला नै नाम परिवर्तन गरेर एयर इण्डिया पब्लिक लिमिटेड बनाईएको थियो । सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि भारत सरकारले यस कम्पनीको ४९ प्रतिशत स्वामित्व किनेको थियो । सन् १९५३ मा भारत सरकारले कम्पनीको पुरै स्वामित्व लिएको थियो । तर त्यसको ६८ वर्षपछि कम्पनीको पूर्ण स्वामित्व टाटा समुहमा नै गएको छ ।

टाटा समुहका अध्यक्ष रतन टाटाले 'वेलकम ब्याक' भन्दै खुसि व्यक्त गरेका छन् । निजीकरण प्रक्रिया आगामी डिसेम्बरसम्म सकिने बताईएको छ । टाटाले चाहेमा यसलाई बिक्रि गर्न पनि सक्ने छ , तर ५१ प्रतिशत स्वामित्व भने टाटाले आफु संग नै राख्नु पर्ने छ । शर्तका अनुसार हाल कम्पनीमा भएका कर्मचारीलाई १ वर्षसम्म निकाल्न पाईने छैन । दोस्रो वर्षमा पनि भिआरएस दिएर मात्र कर्मचारी विदाई गर्न पाइने छ ।

हाल एयर इण्डियाको ८ वटा लोगो छन् । यी लोगो ५ वर्षसम्म कायम राख्नु पर्ने छ । ५ वर्षपछि कुनै भारतीय कम्पनीलाई नै लोगो तथा ब्राण्ड बिक्रि गर्न सकिने छ , विदेशीलाई दिन पाइने छैन । यससंगै भारत सरकारले लामो समयको कसरतपछि ऋणमा डुबेको एयर इण्डियालाई निजीकरण गर्न सफल भएको छ ।

नेपालमा पनि पछिल्लो समय नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्स निजीकरण गर्ने प्रकृया सुरु भएको छ। संचालक समितिका केहि व्यक्तिहरु र महाप्रबन्धक डिम प्रकाश पौडेल मिलेर निगमको सम्पति मुल्यान्कन कौडीको भाऊमा देखाएर निजि क्षेत्रका हवाई र पर्यटन व्यवसायीलाई सुम्पिन लागेको भन्दै पछिल्लो ९९ औं दिनदेखि कर्मचारीहरु आन्दोलित छन्।

निगमलाई महाप्रबन्धक सहितको टिमले प्रस्ताव गरेको शैलीमा निजीकरण गर्ने प्रस्तावको खारेजी, निगमका महाप्रबन्धक पौडेलको राजिनामा लगायतका ४ बुंदे माग राखेर कर्मचारीहरु आन्दोलित भएका हुन्।  कर्मचारीहरुको आन्दोलन र लामो समयदेखि पर्यटन मन्त्रालय मन्त्री बिहिन अवस्थामा रहेकाले निगमलाई निजीकरण गर्ने प्रस्ताव अन्यौलमा रहेको छ। 

    Share Your Thoughts

    Recent News

    Main News

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved