बुद्ध एयरका जहाजमा समस्यै समस्या, ३ महिनामै ६ पटक प्राविधिक गडबडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 01:49:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरको व्यवसाय विस्तार आक्रामक छ । कर्णाली र सुदूरपश्चिम क्षेत्रका गन्तव्यमा उडान गर्न पोखरालाई हब बनाउन लागेको बुद्धले पर्वी नेपालका गन्तव्यमा उडान गर्न रामेछापको मन्थली विमानस्थललाई हबका रुपमा प्रयोग गर्दैछ । बुद्धले ८ वटा जहाज किनेर आक्रामक व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ ।

दुर्गमका पहाडी तथा हिमाली क्षेत्रमा रहेका विमानस्थलमा उडान गर्न व्यवसायिक योजना बनाएर काम पनि सुरु गरिसकेको बुद्ध एयरले पछिल्लो समयमा भने यात्रुको गाली खानु परिरहेको छ । जहाजमा एकपछि अर्को खराबी देखिँदै आएपछि यात्रुहरुले बुद्ध एयरलाई गाली मात्रै गरेका छैनन्, कतिपय अवस्थामा चढ्नै अस्वीकार पनि गरेका छन् ।

यी हुन् समस्याका श्रृङ्खला 

असोज ११ गते बुद्ध एयरका २ जहाजमा एकैदिन खराबी देखियो । ती दुबै जहाज एटिआर–७२ जहाज हुन् । उक्त दिन काठमाडौँबाट विराटनगर उडेको ‘९ एन–एएनआई’ कलसाइनको एटीआर–७२ जहाज ल्याण्डिङ इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो । काठमाडौँमा पनि सहज नभई ‘फोर्स’ ल्याण्ड गर्नुपर्यो । उक्त जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए ।

सोही दिन काठमाडौँबाट पोखरा उडेको एटीआर–७२ ‘९ एन–एजेओ’ कलसाइनको जहाज ककपिटमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भयो । त्रिभुवन विमानस्थलमा जाँच गरेपछि उक्त जहाजलाई पोखरा पठाईएको थियो ।

मंसिर ४ गते सिमरा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाजको टायरको हावा फुस्कियो । एटीआर–७२ सिरिजकै ९ एन–एएनयु कलसाइनको जहाजको अवतरणपछि घुमाउने क्रममा टायरको हावा फुस्कियो । जसका कारण सिमरा–काठमाडौँ उडान डिले हुन पुग्यो ।

मंसिर ११ गते पनि बुद्धकै जहाज नेपालगञ्ज विमानस्थलमा स्यालको बच्चासँग ठोक्कियो । यसलाई जहाजको कमजोरी नमानिएपनि जहाजमा भने समस्या आयो ।

मंसिर २२ गते राती ९ बजे बुद्ध एयरको जहाज भैरहवाबाट काठमाडौँ उडानको तालिका थियो । उडान नम्बर युफोर–८१० जहाजमा यात्रुहरु चढ्दै मानेनन् । कारण उही थियो, प्राविधिक समस्या । तर पनि जहाज जबर्जस्ति उडाउन खोजिएको भन्दै यात्रुहरुले चढ्न अस्वीकार गरेपछि रात्रीकालिन उडान रोकियो ।

त्यसपछि सोही राती करिब साढे ११ बजेको समयमा अर्को जहाज गएर यात्रुलाई काठमाडौँ ल्यायो । 

पौष १ गते पनि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण भयो । भरतपुरबाट उडान भरेको केहीबेरमै जहाजमा यान्त्रिक गडबडी आएपछि जहाजलाई फेरि भरतपुरमै फर्काएर अवतरण गराईएको थियो ।

किन आईरहन्छ बारम्बार खराबी ?

असोज ११ गते ल्याण्डिङ गियरमा समस्या देखिएको र सोही दिन ककपिटमा समस्या देखिएको जहाज एटीआर–७२ सिरिजकै हुन् । यी दुबै जहाज निकै पूराना थिए । 

विराटनगर उड्दा समस्या देखिएको बुद्धको जहाज १४ बर्ष पुरानो हो । यो जहाज बुद्धले नेपाल ल्याउनु अघि भारतको किङफिसर र जेट्कोनेक्टले उडाएको थियो । पूरानौ भएकै कारण समस्या देखिने दाबी हुँदै आएपनि अन्त्यमा चालकलाई दोषी देखाईयो ।

सोही दिन पोखरामा समस्या देखिएको अर्को जहाज त झन २४ वर्ष पुरानो पाईएको छ । भारतको एयर डेकनले उडाइरहेको उक्त जहाज बुद्ध एयरले सन् २०१० नेपाल भित्र्याएको थियो ।

जहाज ‘थोत्रा’ भएरै बुद्धका जहाजमा बारम्बार समस्या आईरहनुको दाबी नियामकका अधिकारीको छ । तर, छानविन गर्दा अरु नै कारण देखाई कम्पनीलाई उन्मुक्ति दिने काम भईरहेको स्रोत बताउँछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved