
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका महाप्रवन्धक र २ जना सञ्चालकलाई हटाउने तयारी थालेका छन् । महाप्रबन्धक डिमप्रकाश पौडेल र सञ्चालकहरु फुर्वा गेल्जे शेर्पा र ईश्वरी पौडेललाई हटाउने भित्री तयारी मन्त्री आलेले थालेका हुन् ।
यसका लागि उपसचिवको नेतृत्वमा अध्ययन समिति नै बनेको छ । उनीहरुलाई कारबाही गरेर निकाल्नका लागि आवश्यक तयारीका लागि मन्त्री आलेले प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन शाखाका उपसचिव राजेश उप्रेती र कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा सम्मिलित समिति बनाएको बुझिएको छ ।
मन्त्री आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महाप्रबन्धक पौडेलसहित सञ्चालकहरु शेर्पा र पौडेललाई राजीनामा दिन अनेक दबाब दिएपनि उनीहरुले राजीनामा नदिएपछि कारबाही गरेर हटाउने गरी मन्त्री आले र अध्यक्ष अधिकारी लागेका हुन् ।
यसअघिः
निगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्ष
समितिलाई निगममा महाप्रबन्धक नियुक्ति, नयाँ सदस्यहरुको नियुक्ति र मन्त्री र अध्यक्षको नियतमाथि प्रश्न उठाउँदै आएका सञ्चालकलाई हटाउने विषयमा अध्ययन गर्न निर्देशन दिईएको छ ।
अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएको ३ महिना बितिसक्दा पनि अहिलेसम्म एक पटक पूर्ण बैठक बस्न सकेको छैन । बैठकका लागि सूचना पठाएर सञ्चालकहरुलाई बोलाउने तर, भित्र प्रवेश गर्ने बेलामा कर्मचारीलाई अघि सारेर मूल गेटमै रोक्ने काम अध्यक्ष अधिकारीले गर्दै आएका छन् ।
यो पनिः
७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठक
केही समय अघि बैठकका लागि ३ जना सञ्चालक सदस्यहरु कार्यालय पुगेपनि प्रवेश गर्ने वातावरण नभएपछि उनीहरु मूलगेटबाटै फर्किएका थिए । त्यस लगत्तै उनीहरुले सामूहिक रुपमा विज्ञप्ति नै जारी गरेका थिए ।