आलेको सेटिङमा निगमको ट्वीनअटर जहाज भाडामा, सबै विवरण गोप्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 12:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तर घाटामा गईरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले झन कङ्गाल बनाउने गरी काम गरेका छन् । भएका जहाज भाडामा दिएर आलेले निगमलाई थप आर्थिक भारको जोखिमतर्फ धकेलेका छन् ।

निजी कम्पनीका जहाजहरुले उडान नगर्ने दुर्गम आन्तरिक गन्तव्यमा नेपाल एयरलाइन्समार्फत उडान सुरु गर्ने दाबी गर्दै आएका मन्त्री आलेले निगमसँग भएका २ वटा ट्वीनअटर जहाजमार्फत पनि उडान गराउन सकेका छैनन् ।

डिमप्रकाश पौडेल निगमको महाप्रबन्धक रहँदा रहँदै आलेले यौन दूराचारमा मुछिएका निगमकै पूर्व कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएर भित्र्याए । यौन दूराचारमा मुछिएको व्यक्तिलाई निगमको कार्यकारी अध्यक्षको बनाएको भन्दै भईरहेको आलोचना मोड्न मन्त्री आलेले ग्राउण्डेड चिनियाँ जहाजमार्फत उडान गर्ने, निजी कम्पनीले उडान नगर्ने दुर्गम क्षेत्रमा निगममार्फत उडान सुरु गर्ने, अन्तराष्ट्रिय गन्तव्य थप्ने लगायतका भाषण गरिरहे । 

तर, आजको मितिसम्म आईपुग्दा निगमका विषयमा मन्त्री आलेले गरेका एउटा भाषण पनि कार्यान्वयन भएका छैनन्, बरु भएका २ वटा जहाजमध्ये एउटा जहाज निजी कम्पनीलाई भाडामा दिएको छ । 

एउटा ट्वीनअटर जहाज भाडामा दिएको विषयमा नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने अनविज्ञता प्रकट गरेकी छिन् । एउटा जहाज पोखरालाई बेश बनाएर उडिरहेको तर, भाडामा दिईएको बारे आफूलाई जानकारी नरहेको उनको भनाई छ । उनले यसबारेमा निगमको कमर्सियल विभागमा बुझ्न भनेकी छिन् ।

तर, कमर्सियल विभाग स्रोतले भने निगमको एउटा ट्वीनअटर जहाज चार्टर उडानमा रहेको पुष्टि गरेको छ । यद्यपी, कुन कम्पनीलाई कति समयका लागि कति दरमा चार्टरमा लगाईएको भन्ने विवरण विभागमा नरहेको दाबी ती अधिकारीको छ । 

६० प्रतिशत आम्दानी घट्यो

निगमका विभिन्न विभागसँगको सम्पर्कका आधारमा निगमले एउटा जहाज भाडामा लगाएको पुष्टि भएको छ । तर, भाडामा लगाउँदा कति आम्दानी भएको छ भन्ने तथ्यांक निगम स्रोतले दिन सकेको छैन । 

यद्यपी, नियमित उडान गर्दा र भाडामा लगाउँदा हुने आम्दानीमा ५० प्रतिशतको अन्तर हुने दाबी हवाई उड्डयन क्षेत्रका जानकारहरुको छ । अहिलेको भाडादर अनुसार एउटा ट्वीनअटर जहाजले नियमित उडान गर्दा दैनिक १२ लाख रुपैयाँसम्म कमाउन सक्छ । तर, भाडामा लगाउँदा बढीमा आधा अर्थात् ६ लाखमा मात्रै लगाईएको स्रोत बताउँछ । 

‘दैनिक ५ लाखमा लगाईएको छ भन्ने सुनिएको छ, कोही कोही ६ लाख पनि भन्छन्’ स्रोत भन्छ, ‘ट्वीनअटर विमानले डेली (दैनिक) ८ वटासम्म उडान गर्न सक्छ, ८ उडानमा १२ लाखसम्म कमाई हुन्छ, भाडामा लिनेले पनि त नाफा राखेरै लिन्छ ।’

सेटिङमा जहाज भाडामा, विवरण गोप्य

मन्त्री आले र अध्यक्ष अधिकारीको मिलेमतोमा कुनै अमुक कम्पनीलाई जहाज भाडामा दिने काम भएको दाबी स्रोतले गरेको छ ।

निगमको उक्त विमानलाई पोखरा वेश बनाएर उडाईएको भएपनि कुन कम्पनी मार्फत चार्टर भईरहेको छ भन्नेसम्म निगमकै अधिकारीलाई थाहा छैन । कुन दरमा भाडामा लगाईएको हो, कति समयका लागि लगाईएको हो भन्ने सम्मका विवरणहरु अध्यक्ष युवराज अधिकारी र मन्त्री प्रेम आलेबाहेक अरुलाई थाहा दिईएको छैन ।

निगमको उक्त विमान चार्टर गरेर उडाईरहेको कम्पनीले पोखरा–जोमसोम–पोखरा उडानमार्फत ३ लाख २० हजार रुपैयाँ कमाउँदै आएको छ । तर, निगममा भने उक्त रुट पोखरा–जोमसोम–पोखरा उडानबाट १ लाख ३० हजार मात्रै आउने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved