लुम्बिनी आएका मोदीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन प्रयोग गरेनन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 11:48:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुद्ध जयन्ती । बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आईपुगेका छन् । बुद्धको नाममा नामाकरण गरिएको भैरहवास्थित नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पनि आज बुद्ध जयन्तीकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

गौतमबुद्ध विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बीचको दूरी करिब १५ किलोमिटर छ । तर, भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा भैरहवा विमानस्थलमार्फत नभई सिँधै हेलिकप्टरमार्फत लुम्बिनी ओर्लिए ।

भारतको राजधानी दिल्लीबाट उडेका मोदी नेपालको भैरहवाबाट २ सय किलोमिटर टाढा पर्ने भारतको उत्तर प्रदेशस्थित कुसीनगर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आए । 

मोदी किन गौतमबुद्ध विमानस्थलमा ‘ल्याण्ड’ भएनन् ?

भारतीय विदेशसचिव विनय मोहन क्वात्राले शुक्रबार दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री मोदी नेपाल जाँदा र आउँदा कुसिनगर विमानस्थल भएर ओहोर दोहोर गर्ने जनाएको बताइन्छ । भारतीय सञ्चारमाध्यमले मोदीको भ्रमण रुट सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर तय गरिएको पनि बताउने गरेका छन् । 

यति मात्रै नभई, भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेको विमानस्थल भएकोले भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ जाने कार्यक्रम नबनाएको ‘हल्ला’ पनि गर्न भ्याएका छन् ।

तर, नेपाली अधिकारीहरू भने मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायु सेवाको जहाज नै गौतमबुद्ध विमानस्थलमा आएकाले यसमा अनेक शंका गर्न आवश्यक नरहेको बताउँछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्ण गौतमबुद्ध विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणअघि सुरक्षा बन्दोबस्तीका सामग्री बोकेर दिल्लीबाट भारतीय वायु सेवाको विमान आएकोले चीनको लगानी भएकै कारण भारतीय प्रधानमन्त्रीले यो विमानस्थल प्रयोग नगरेको भन्ने हल्ला अनावश्यक भएको बताउँछन् ।

‘मोदीले यो विमानस्थल प्रयोग गरेको भए हवाई रुट पाउन सकिन्थ्यो’ 

गौतमबुद्ध विमानस्थलको लागि भारतले आफ्नो आकाश हुँदै सीधा हवाई रुट दिएको छैन । नेपालको तर्फबाट झण्डै ४ वर्ष अघिदेखि यो विषय उठिरहेको छ । भारतले मौखिक रुपमा हवाई रुट दिन आफू तयार रहेको बताएपनि निर्णय गरेको छैन । 

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ‘भारतीय प्रधानमन्त्री मोदीले गौतमबुद्ध विमानस्थल प्रयोग गरेर लुम्बिनी आएको भए भारतले चाँडै हवाई रुट दिने कुरामा विश्वास गर्न सकिन्थ्यो’ भन्छन् । तर, यसका लागि सरकारले पर्याप्त पहल नगरेको उनको आरोप छ । 

‘एकातिर हवाई रूट दिएको छैन, आफूले रुट नदिएको एयरपोर्ट प्रयोग गर्दा यसबारे पुनः कुरा उठ्यो भने के जवाफ दिने भनेर पनि भारतीय प्रधानमन्त्रीले अहिले यो विमानस्थल प्रयोग नगरेको हुनसक्छ’ ज्ञवालीले भने, ‘यसो हुनुमा नेपाल सरकारले पनि पर्याप्त पहल नगरेको देखिएको छ, आवश्यक पहल गरेर भारतीय प्रधानमन्त्री मोदीलाई गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी लैजाने प्रवन्ध मिलाउनु पर्थ्यो, गौतमबुद्ध विमानस्थललाई हवाई रुट दिलाउन यो महत्वपूर्ण पहल हुन्थ्यो, यो अवसर सरकारले गुमायो ।’ 

यद्यपी, बौद्ध धर्मका जानकारहरु भने भारतले नेपालको लुम्बिनीलाई नभई भारतको कुसीनगरलाई बौद्ध सर्किटको केन्द्रबिन्दु बनाउन चाहेकाले मोदीले गौतमबुद्ध विमानस्थललाई वेवास्ता गर्दै भारतकै कुसीनगरको विमानस्थललाई आफूले प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved