‘८० जना कार्यकर्तालाई भर्ती गर्न नमान्दा मन्त्रीले अध्यक्षमाथि हातपात गरे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 12:54:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि आफ्ना ८० जना मान्छे भर्ती नगरेको झोँकमा हातपात गरेको खुलेको छ । निगम अन्तर्गतका विभिन्न कर्मचारी संगठनले मन्त्री आलेलाई बर्खास्त गर्न माग गरेका छन् । 

नेपाल वायुसेवा निगम कर्मचारी संघ, नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपाल एयरलाइन्सलाई थप धरासायी बनाउने उद्देश्यले मन्त्री आलेले ८० भन्दा बढी कर्मचारी भर्ती गर्न दबाब दिएको र नमान्दा कार्यकारी अध्यक्षमाथि हातपात र अश्लील गाली गरेको खुलासा गरेका छन् । 

नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुन र महासचिव नेत्रराज राउतले हस्ताक्षर गरेको विज्ञप्तिमा पर्यटनमन्त्री आलेले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निगमविपरीतका काम गर्न अनावश्यक दबाब दिएको, अश्लील गालीसहित हातपात गरिएको भन्दै खेद प्रकट गरिएको छ ।

मासिक ज्याला भूक्तानी गर्ने गरी मन्त्रालयबाटै निगममा ८० भन्दा बढी व्यक्तिलाई नियुक्ति दिनु निगमजस्तो संस्थामा हस्तक्षेप गर्नु र राजनीतिक विकृति फैलाउने काम भएको भन्दै संघले तत्काल छानबिन गर्न पनि माग गरेको छ । 

नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले पनि विज्ञप्तिमार्फत मन्त्री आलेले निगमलाई राजनीतिक भर्तीकेन्द्र बनाउन खोजिएको उल्लेख गरेका छन् । निगमलाई कार्यकर्ताको भर्तीकेन्द्र बनाउने मनसायसहित मन्त्रीले नै निगमका कार्यकारी प्रमुखमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको भन्दै मन्त्री आलेलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

त्यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल वायुसेवा निगम)का वरिष्ठ उपाध्यक्ष शैलेन्द्र शाहले पनि विज्ञप्ति जारी गर्दै मन्त्री आलेले अध्यक्षमाथि गरेको हातपात तथा गालीगलौजप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved