
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी राजनीतिक शक्तिको आडमा महानिर्देशक बनेका व्यक्ति हुन् । न उनको योग्यता पुग्थ्यो, न उनी सिनियर नै हुन् । तर पनि तत्कालिन पर्यटनमन्त्री प्रेम आले, आलेको पार्टी नेकपा एकिकृत समाजवादी र सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रका नेतालाई समेत मोटो रकम बुझाएर उनले महानिर्देशक पद हत्याएका थिए ।
८ वर्ष महानिर्देशक बन्ने दाबी
पौष २५, २०७८ बाट क्यानको महानिर्देशक पद रिक्त थियो । २३ पौषमा राजकुमार क्षेत्रीले अनिवार्य अवकाश पाएका थिए । तर, क्यानको महानिर्देशकको पदावधि ४ वर्षे हुने दाबी सहित यसमा उमेरहद लागू हुन नहुने दाबी गर्दै क्षेत्री अदालत गएका छन् । हाल पनि यो मुद्दा अदालती प्रक्रियामै छ ।
तर, माघ १८ गते ११ औँ तहका प्रदीप अधिकारीलाई तत्कालिन पर्यटनमन्त्री प्रेम आलेको सिफारिसमा मन्त्रिपरिषदले क्यानको महानिर्देशकमा नियुक्त गरेको थियो ।
प्रशासनिक तर्फका आधा दर्जन व्यक्तिहरु सिनियर (१२औँ तहका) हुँदाहुँदै पनि पैसाको आडमा प्राविधिक तर्फका ११औँ तहका अधिकारी महानिर्देशकमा नियुक्त हुनुका पछाडी मोटो रकम आर्थिक चलखेल भएको प्रष्टै छ । क्यानमा १२औँ तहका भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर थिए ।
ठाकुरले निमित्त महानिर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका थिए । तर, उनीहरुलाई आफूभन्दा एक तह कमका कर्मचारीलाई महानिर्देशक अर्थात् हाकिम भन्न बाध्य बनाईयो ।
आर्थिक चलखेल गरेरै आफू महानिर्देशक बनेको कुरालाई पुष्टि गर्ने गरी अधिकारी आफैँले भनेका छन्, ‘अब ८ वर्ष क्यानको महानिर्देशक म नै हुँ, ८ वर्षसम्म अब कसैले चाहेर पनि यो कुर्सीमा बस्न सक्दैन, बस्न पाउँदैन ।’
काण्डैकाण्डका चाङ
महानिर्देशक अधिकारीमाथि चलखेलको आरोपका चाङहरु गनिसाध्य छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिका विषयमा परेका उजुरीमाथि छानबिन जारी नै छ ।
यसअघिः
सम्पत्ति शुद्धीकरण र अख्तियारमा उजुरी परेका अधिकारीलाई मन्त्री आलेले किन बनाए महानिर्देशक ?
‘एरोड्रम सेफ्टी एण्ड स्ट्यान्डर्ड’ डिपार्टमा भएको आफ्नो दरबन्दी छोडेर उनी पैसा बढी हुने प्राधिकरण मातहतका परियोजनामा करारमा खटिन्थे । मनग्य बजेट भएका ठूला परियोजनामा सधैँ उनका आँखा गाडिन्थे ।
निजगढ अन्तराष्ट्रिय विमानस्थल (बारा), गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल (पोखरा) निर्माणको परामर्शदाता छनोटका क्रममा गैरकानूनी रुपमा मिलिमतो गरेर अनियमितता र भ्रष्टाचार गरेको आरोप पनि अधिकारीमाथि लागेको छ ।
उनीमाथि लागेको आरोप किन पनि निराधार आरोप होइन भने, त्यसअघि यी ३ वटै विमानस्थल निर्माण परियोजनाको आयोजना प्रमुखका रुपमा फरक फरक व्यक्ति खटिन्थे । तर, अधिकारीले शक्ति केन्द्रका आडमा ३ वटै विमानस्थल निर्माण आयोजनाको आयोजना प्रमुख एकै व्यक्ति रहने गरी एउटै संगठन बनाएर आफू नै आयोजना प्रमुख बनेका थिए ।
यस विषयमा बिजपाटीसँग महानिर्देशक अधिकारीले आफू केही नबोल्ने र आफूलाई काम गर्न दिन भनेका छन् ।
‘म केही बोल्दिनँ, भेट पनि खासै म गर्दिनँ’ उनले भनेका छन्, ‘मेरो कुरा केही कोर्ट नगर्नू, मलाई काम गर्न दिनू, अहिले काम गर्ने बेला हो ।’
यो पनिः
बरिष्ठलाई पन्छाएर मन्त्री आलेले बनाए ‘कनिष्ठ’लाई क्यानको महानिर्देशक