नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी ‘मालदार परियोजना’को ‘प्रोजेक्ट म्यानेजर’ भएर अर्बौ रुपैयाँ कमाएर त्यो मध्येबाट करोडौँ खर्च गरेर महानिर्देशक भएको खुल्दै आउन थालेको छ ।
छोटो समयमै क्यान अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले अर्बौ रुपैयाँ कमाएका थिए । यतिसम्म कि, उनले परियोजनाको कन्सल्टेन्ट कम्पनीसमेत आफैँले चलाएका छन् । यद्यपी, दर्ता अर्कैको नाममा छ ।
११औँ तहलाई पन्छाएर ८औँ तहलाई आयोजना प्रमुख
चितवनको चैनपूर घर भएका अधिकारी आर्थिक वर्ष २०६४/०६५ बाट सिभिल इन्जिनियरको रुपमा प्राधिकरण प्रवेश गरेका थिए । ७औँ तहबाट क्यानमा प्रवेश गरेका उनी अहिले ११औँ तहमा छन् । सँगै, प्रवेश गरेकाहरु ९औँ तहमै सिमित छन् ।
प्रदीप अधिकारी क्यानमा प्रवेश गर्दा त्यतिबेला सिभिल चिफ थिए सुमन श्रेष्ठ । अधिकारी विस्तारै सुमनको प्यारो हुँदै गए । ठिक त्यसै समयमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम सुरु भयो । उक्त विमानस्थलको ‘प्रोजेक्ट म्यानेजर’ बन्ने चाहना प्रदीपले देखाए । उनी त्यतिबेला १ तह बढुवा भएर ८औँ तहमा पुगेका थिए ।
तर, त्यतिबेलाका क्यानका महानिर्देशक रतिशचन्द्र लाल सुमनले इन्जिनियर बाबुराम पौडेललाई पोखरा अन्तराष्ट्रिय विमानस्थल परियोजनाको आयोजना प्रमुख बनाउन खोजे । सँगै, त्यतिबेला पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख रहेका प्रतापबाबु तिवारीले पनि आयोजना प्रमुख बन्न लविङ गरेका थिए ।
तर, प्रदीपले भित्रभित्रै महानिर्देशक रतिशचन्द्र लाल सुमनलाई प्रभावमा पारेर पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख बनि छाडे ।
सामान्यतया, आयोजना प्रमुखको दरबन्दी ११औँ तहको हुन्छ । तर, त्यतिबेला सबैभन्दा जुनियर (८औँ तह)लाई आयोजना प्रमुख बनाईयो ।
त्यसपछि नदी नियन्त्रण र जग्गा अधिग्रहण लगायतबाट प्रदीपले मोटो रकम हिनामिना गरेको आरोप लाग्यो । तर, त्यतिबेला ७ करोड रुपैयाँको नदी नियन्त्रणको काममा भने उनी असफल भएका थिए ।
फास्ट ट्रयाकबाट यसरी कमाएका थिए अधिकारीले अर्बौ सम्पत्ति
पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएपछि उनले ‘मालदार परियोजना’को आयोजना प्रमुख अरु कसैलाई बन्न नदिने कसरत थाले ।
भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम सुरु भएको थियो भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने चरणमा थियो । यी दूबै परियोजनाको प्रमुख बन्ने कसरत उनले गर्न थाले । त्यतिबेला के सहज थियो भने, उनी ११औँ तहमा पुगिसकेका थिए ।
परियोजन नै पिच्छे फरक फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा उनले सन्जिव गौतम महानिर्देशक भएपछि उनलाईसमेत प्रभावमा पारेर ३ वटै अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख आफू बने । त्यतिबेलाका महानिर्देशक गौतमले तीनकुने (गैह्री गाउँ)स्थित कार्गो विल्डिङमा प्रदीपका लागि कार्यालय राखिदिए । त्यहाँबाट उनले ‘कोअर्डिनेटर’को काम गर्ने र फिल्डमा इन्चार्ज भनेर आफ्ना मान्छे पठाउने काम गर्न थाले ।
यसअघिः
‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१
३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको सिभिल चिफ बनेर उनले गर्नुसम्मको घोटला गरे ।
यस सम्बन्धमा सम्पत्ति शुद्धीकरणदेखि अख्तियारमा सम्म उनीविरुद्द उजुरीका चाङ छन् ।
राजनीतिक कनेक्सन
महानिर्देशक अधिकारी ‘नाता’ गाँसेर राजनीतिक नेतृत्वसँग ‘सम्बन्ध’ बनाउन खप्पिस छन् । निवर्तमान पर्यटनमन्त्री प्रेम आलेलाई सबै कर्मचारीले ‘मन्त्री ज्यू’ भनेर सम्बोधन गर्दा उनी ‘दाइ’ भन्थे ।
अधिकारीले आलेसँग मात्रै होईन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरु आफ्नो ‘कमाण्ड’मा राख्ने गर्थे । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटमन्त्री जीवनराम श्रेष्ठ सम्मलाई उनले ‘आफ्नो’ बनाईसकेका छन् ।
यतिसम्म की, खुमलटार (प्रचण्ड), बालुवाटार (प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु), कोटेश्वर (माधब नेपाल), तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने (साउन १६ गते रिटायर्ड भएका)लाई गरी २० करोड रुपैयाँ भेटि चढाएर प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा त्यतिबेला नै चलेको थियो । हालसम्म पनि क्यान भित्र र बाहिर यो चर्चा सेलाएको छैन ।