‘डीजी साप’को गोप्य निर्णयः ४० प्रतिशत कमिशन पाउने गरी ‘रिट्ठेपानी डाँडो’ काट्न टेण्डरै नगरी ठेक्का

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 04, 2022 | 11:32:43 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा निर्माण भएको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि रिठ्ठेपानी डाँडो कटान गर्नुपर्ने बहस हुन थालेको लामो समय भईसक्यो । तर, विमानस्थलको निर्माण सकिने बेलामा मात्रै डाँडो कटान नगरी विमान उडान र अवतरण गर्न नसक्ने भएकाले डाँडो काट्नुपर्ने विषय आउनुले डिजाइनमै त्रुटी रहेको पुष्टि हुने नागरिक उड्डयन क्षेत्रका जानकारहरु बताउँछन् । 

नागरिक उड्डययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी महानिर्देशक हुनु अगाडी आफैँ पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख थिए । आफैँ आयोजना प्रमुख रहेको परियोजनाको निर्माण सम्पन्न हुने बेलामा मात्रै उनले डाँडो कटान गर्नुपर्ने विषय थाहा पाउनु आफैँमा शंकाको विषय बनेको इन्जिनियरहरु बताउँछन् । 

बैठकमा सुटुक्क एजेण्डा छिराईयो

साउन ८ गते क्यान सञ्चालक समितिको ४०३औँ बैठक बस्ने मिति तय भएपछि सञ्चालकहरु (पर्यटन मन्त्री, पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह–सचिव डा. टोकराज पाण्डे, रोशन चित्रकार, टीआर मानन्धर)लाई सदस्य सचिवका हैसियतमा महानिर्देशक अधिकारीले एजेण्डाहरु पठाए । 

‘पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे स्ट्रिपको पूर्वपट्टि हवाई सुरक्षार्थ अवरोधजन्य, जोखिमजन्य अवस्थामा रहेको रिट्ठेपानी डाँडा कटानसम्बन्धमा’ भनेर पठाईएको एजेण्डामा विस्तृत विषय लेखिएको थिएन । एजेण्डा मात्रै लेखिएको र विस्तृत विवरण नखुलाईएको कारण उक्त बैठकबाट डाँडो कटानको निर्णय गराउन डीजी अधिकारी सफल भएनन् ।

जबरजस्ती निर्णय गरियो, अर्थका प्रतिनिधिले हस्ताक्षर नै गरेनन्

साउन ८ मा निर्णय नभएपछि साउन २२ मा पुनः अर्को बैठक राखियो । उक्त बोर्ड बैठकले विमानस्थलसँगै जोडिएको काम भएकाले विमानस्थल बनाउँदै गरेको ठेकेदार कम्पनीलाई नै डाँडा कटानको जिम्मेवारी दिने गरी निर्णय गर्यो ।

साउन ८ को बैठकले डाँडा कटानका विषयमा निर्णय नगरेपछि २२ साउन २०७९ मा बसेको क्यान सञ्चालक समितिको ४०४औँ बैठकले चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङलाई नै डाँडो कटानको काम दिने निर्णय गरेको हो ।

निर्णयमा ‘उक्त डाँडा कटान गर्ने कार्य ईपीसी कन्ट्रयाक्टमा समावेश गराई हाल आयोजनामा कार्यरत चिनियाँ निर्माण व्यवसायी श्री चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड चाइनाबाट नै गराउन उपर्युक्त हुने हुँदा नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृतका लागि श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरी पठाउने’ भनिएको छ ।

तर, उक्त निर्णयमा प्राधिकरण सञ्चालक समिति एकमत भने हुन सकेन । अर्थबाट प्रतिनिधित्व गरेका बाबुराम सुवेदीले असहमति जनाएर निर्णयमा हस्ताक्षर समेत नगरेको बताइन्छ । 

मन्त्रिपरिषदमा प्रस्ताव लैजान मन्त्रीलाई सकस, उता कमिशनको खेल

क्यानको बोर्डले चिनियाँ सीएएमसी इन्जिनियरिङ कम्पनीलाई नै डाँडो कटानको जिम्मेवारी दिने र यस विषय मन्त्रिपरिषदबाट निर्णय गराउन तालुक मन्त्रालय (नागरिक उड्डयन मन्त्रालय)लाई अनुरोध गर्ने निर्णय गरेको भएपनि मन्त्री जीवनराम श्रेष्ठले यो प्रस्ताव मन्त्रिपरिषदमा लैजान सकेका छैनन् ।

‘असोजभित्रै डाँडा कटान नसके तोकिएको मितिमा एयरपोर्ट अपरेशनमा ल्याउन सकिँदैन भन्ने तर्क गरेर विना टेण्डर मन्त्रिपरिषदबाट निर्णय गराएर काम गराउने र त्यसवापत ४० प्रतिशत कमिशन हत्याउने दाउमा डीजी साप हुनुहुन्छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषदमा प्रस्ताव नजानुमा मन्त्री ज्यूसँग केही कुरा मिल्न बाँकी भएर होला ।’ 

महानिर्देशक अधिकारीले असोजभित्रै डाँडा कटानको काम नसकिए आगामी पुस १६ गते अर्थात्  २०२२ जनवरी १ तारिखबाट विमानस्थल सञ्चालन गर्ने लक्ष्य पूरा नहुने तर्क गर्दै आएका छन् । 

‘असोजमा काम नसकिए एयरपोर्ट अपरेशनमा ल्याउन फागुन, चैतमा पुग्नुपर्ने हुन्छ भन्ने उहाँको कुरा छ, ठेक्का प्रक्रियामा जाने हो भने सार्वजनिक खरिद नियमावली अनुसार असोजमा त टेण्डर समेत हुँदैन’ मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रिपरिषदमा तत्काल प्रस्ताव जाने कुरा छैन ।’

पोखरा अन्तराष्ट्रिय विमानस्थलको दक्षिणपूर्वी सिमानाबाट करिब डेढ किलोमिटर दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर उचाई कटान गर्न ५० करोड लाग्ने अनुमान प्राधिकरणले गरेको छ । ठेक्का प्रक्रियाबाट यो काम गर्दा २० देखि २५ करोडमै सकिने भएपनि मोटो रकम कमिशन हत्याउन बिना प्रतिस्पर्धा ५० करोडमा काम दिने खेल भईरहेको दाबी स्रोतले गरेको छ ।

यसअघिः
‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियो

जताततै भ्रष्टाचारको उजुरी स् सातौँ तहमा हुँदा नै डीजी अधिकारी भन्थे, ‘क्यान हाँक्न आएको हुँ’ 

‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१

‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा करोडौँ ‘घोटला’, दलालसँग मिलेर राज्य कोषको दोहन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved