नागरिक
उड्ययन प्राधिकरणले नेपाल युरोप उडानका लागि सुरक्षा जोखिमबाट हट्ने प्रकृया तीव्र
रूपले अघि बढेको जनाएको छ ।
दशैंलगत्तै हवाइ
सुरक्षा अडिटका लागि युरोपेली युनियन एभियसन सेफ्टी एजेन्सी (इआसा)को प्राविधिक
टोली नेपाल आएर 'अनसाइट' अडिट गर्ने र त्यसपछि नेपाललाई सुरक्षा
जोखिमको सूचीबाट हटाउने प्रकृया शुरू हुने नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक
प्रदीप अधिकारीले बताए ।
'इआसाको
टोलीले दशैं लगत्तै आउने पत्र हामीलाई पठाएको छ,' अधिकारीले बिजपाटीसँग भने, 'यसअघि
२०१४ मा अडिटका लागि नेपाल आएको टोलीले त्यसयता अनसाइट भिजिट गरेको थिएन । यताबाट
पठाएको प्रतिवेदनअनुसार उताबाट मूल्यांकन गर्ने गरिएको थियो ।'
अधिकारीका
अनुसार उक्त अडिटमा वायुयोग्यता, व्यक्तिगत लाइसेन्सिङ, उडान सञ्चालन, नेभिगेसन
सेवा, एरोड्रोम र ग्राउण्ड सहायता, दुर्घटना अनुसन्धानलगायत क्षेत्रमा अध्ययन गरेर
निष्कर्ष राखिनेछ ।
अन्तर्राष्ट्रिय
नागरिक उड्ययन संगठन (आइकाओ)ले सन् २०१५ देखि नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।
आइकाओको पछिल्लो अडिटमा नेपालले ७० दशमलव १ प्रतिशत अंक पाएको थियो ।
अधिकारीले ६०
प्रतिशत भन्दा बढी अंक ल्याएकाले नेपाल हवाइ सुरक्षा जोखिमको सूचीबाट हट्ने आशा
रहेको बताए । आइकाओको टोली नेपाल नै आएर उक्त अडिट गरेको थियो ।
'दुर्घटना
छानबिनका लागि स्वतन्त्र छानबिन आयोग बनाउनुपर्ने उनीहरूको थप माग छ,' अधिकारीले
भने, 'स्वतन्त्र रूपमा छानबिन गर्ने कुनै निकाय गठन गर्न हामीलाई अप्ठेरो पनि छैन
। यसका लागि पर्यटनमन्त्री सकारात्मक हुनुहुन्छ ।'